पर्यटन क्षेत्रको लगानी संकटमा
काठमाडौं , २६ चैत । गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको रु २५ अर्बको लगानी संकटमा परेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला करीब ३०० होटल तथा रेष्टुरेन्ट एवं १०० ट्राभल एजेन्सी बन्द छन् । यसले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सघाउ पु-याएका थिए ।
सम्भावित सङ्क्रमणका कारण नेपाल भ्रमण वर्ष २०२० यसअघि नै सरकारले स्थगन भएको घोषणा गरेको थियो । जिल्लामा २५ तारे होटेल मात्रै छन् । यसमा आश्रित लगभग सात हजार कर्मचारी र उनका परिवारमा पनि दैनिक गुजारा चलाउन समस्या परेको छ ।
तिलोत्तमामा सिल्भर हेरिटेज गु्रपको रु तीन अर्ब लगानी रहेकोे पाँचतारे होटल टाइगर प्यालेस १५ दिन यतादेखि पूर्णरुपमा बन्द छ । होटलमा काम गर्ने सात सय कर्मचारीलाई पनि होटल व्यवस्थापनले अहिले बिदा दिएको छ ।
दैनिक रु ३५ लाखको कारोवार हुने सो होटलमा क्यासिनोसमेत छ । होटेलमा मासिक रु ३५ हजारभन्दा बढी भारतीय पर्यटक आउने बताइएको छ । होटलका सूचना अधिकारी रणधीर यादव होटलमा ठूलो नोक्सानी भएको बताउनुहुन्छ । यहाँबाट आश्रित कर्मचारीको परिवारलाई समेत समस्या परेको छ ।
मणिग्राममा रहेको चारतारे होटल ड्रिम ल्याण्ड गोल्ड रिसोर्ट पनि झन्डै रु एक अर्ब लगानीमा सञ्चालनमा रहेको होटल हो । होटलले पनि आफ्ना २०० कर्मचारीलाई बिदा दिएको छ । होटलका सञ्चालक तथा होटल व्यवसायीको छाता संगठन होटल एशोसियशन अफ नेपालका केन्द्रीय सदस्य गोपाल रानाले होटेल पर्यटनको आधार भएको उल्लेख गर्दै यसले सबैलाई मारमा पारेको बताए ।