लकडाउन वैशाख १५ गतेसम्म
काठमाडौँ, २ वैशाख । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउनको अवधि १२ दिन थपेर १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो । त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ सम्मका लागि लकडाउन लम्ब्याएको थियो । उक्त अवधि सकिनु १ दिन अगावै सरकारले तेस्रोपटक जारी लकडाउन ८ दिन थपेर वैशाख ३ गतेका लागि लम्ब्याएको थियो । जसको अवधि भोलि बुधबार सकिने थियो । तर सो अवधि समाप्त नहुँदै आजको मन्त्रिपरिषद बैठकले चौथोपटक १२ दिन थप गरेर अवधि लम्ब्याएको हो । अब जारी लकडाउन बैशाख १५ गतेसम्म कायम रहनेछ ।
यसैबीच, भारतमा पनि जारी लकडाउन थप १९ दिनका लागि लम्ब्याइएको छ । मंगलबार भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन थपिएको जानकारी गराए । भारतमा पनि यसअघि लागू गरिएको तीन हप्ते लकडाउन भोलि बुधबार नै सकिनेवाला थियो, तर अब वैशाख २१ गतेसम्म लकडाउन जारी रहनेछ ।