फ्रान्सले मे ११ देखि लकडाउन खुकुलो बनाउने
काठमाडौं, १७ वैशाख । फ्रान्सका प्रधानमन्त्री इड्वार्ड फिलिपले विस्तारै जनजीवन सामान्य बनाउने योजना सार्वजनिक गरेका छन् । अत्यावश्यक बाहेकका पसल वा बजारहरु पनि आउँदो मे ११ देखि फ्रान्समा खुला हुने भएका हुन् । तर बार तथा रेस्टुरेन्टलाई भने सो छुट दिइएको छैन । खुला गरिएका पसलमा पनि सुरक्षात्मक सामग्रीको प्रयोग तथा तीन फिटको दूरी कामय गर्नु पर्ने छ । सर्वसाधारणहरु मे ११ देखि घर बाहिर निस्कन पाउने छन् । तर एक ठाउँमा १० जनासम्म मात्रै जम्मा हुन पाइने छ ।
लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य हुने प्रधानमन्त्री फिलिपले बताएका छन् । ११ देखि १५ वर्ष उमेरका बालबालिकाले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने भएको हो । विद्यालयहरु क्रमिक रुपमा खुलाउँदै जाने योजना सार्वजनिक गरिएको छ । सुरुमा किन्डरगार्डेन र त्यसपछि प्राइमरी स्कूल खोल्ने बताइएको छ । फ्रान्समा कोरोना भाइरसका कारण २३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । -एजेन्सी