२५ गते पछि लकडाउनको स्वरुप फेरिने

२०७७ बैशाख २१ गते, आईतवार

काठमाडौं, २१ वैशाख । आजको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गते पछि लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको बताइएको छ। कृषि मन्त्री घनश्याम भुसालका अनुसार लकडाउनको स्वरुप फेर्ने गरी आन्तरिक गृहकार्य अघि बढाउनेबारे मन्त्रिपरिषद्मा चर्चा भएको छ। उनले भने – ‘कोरोना फैलिएको अहिलेको अवस्थालाई हेरेर देशभित्र लकडाउनको स्वरुप फेरिन सक्छ। ‘त्यसका लागि स्वास्थ्य मन्त्रालयसहितले आवश्यक गृहकार्य गरिरहेका छन्। थप निर्णय चाँडै हुनेछ।’ मन्त्री अनुसार लकडाउनकै कारण कोरोनाको जोखिम बढ्न नपाएको निचोडसहित मन्त्रिपरिषद्ले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने निचोड निकालेको छ। ‘अहिलेलाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान खुलाउनेबारे कुनै छलफल भएको छ। त्यसबारेमा सरकारले सोचेको पनि छैन’, उनले भने, ‘अन्तर्राष्ट्रिय सीमा नाकामा अझै कडाइ गर्ने निर्णय भएको छ।’ सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्न कोरोना संक्रमणको अवस्था हेरेर गाढा रातो, रातो, पहेंलो र हरियोसहित चार जोन बनाउने भएको छ। लकडाउन खोल्न जिल्लाहरुमा देखिएको जोखिमको आधारमा गाढा रातो, रातो, पहेंलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यसैको आधारमा क्रमश: अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्याउन लागिएको हो। स्वास्थ्य मन्त्रालयले बनाएको मस्यौदामा अतिउच्च र उच्च जोखिमलाई पूर्ण लकडाउन गर्ने र सामान्य जोखिमलाई आंशिक रुपमा बन्दाबन्दी गर्ने उल्लेख छ। यस्तै कोभिड-१९ रोकथामका लागि कर्फ्यु, पूर्ण लकडाउन र आंशिक लकडाउन लागू गर्न सकिने भनिएको छ। कर्फ्युमा के गर्ने? पूर्ण लकडाउनमा के गर्ने? आंशिक लकडाउनमा के के सेवा सञ्चालन गर्न दिने? भन्‍नेसमेत मस्यौदामा उल्लेख गरिएको छ। सामान्य जोखिमयुक्तलाई पहेंलो, उच्च जोखिमयुक्तलाई रातो र अतिउच्च जोखिमयुक्तलाई गाढा रातो सूचकमा राखेर लकडाउनको मोडालिटी तयार पारिएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु