लकडाउन जेठ ५ गतेसम्म लम्बियो

२०७७ बैशाख २४ गते, बुधबार

काठमाडौँ, २४ वैशाख । मन्त्रिपरिषद बैठकले जारी लकडाउन १० दिन थप गरेर जेठ पाँच गतेसम्मका लागि लम्ब्याएकाे छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि छैटाैँपटक १० दिन थप गरेकाे हाे । यसअघि घोषित लकडाउन २५ वैशाख सकिँदै छ ।
मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पछिल्लाे समय नेपालगन्जमा समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे भेटिएपछि लकडाउन थप गर्ने निर्णयमा सरकार पुगेकाे देखिन्छ । नत्र वैशाख २५ पछि लकडाउन खुकुलाे पार्नेबारे पनि छलफल भइरहेकाे थियाे ।
यसअघि मंगलबार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले पनि लकडाउन तत्काल खुकुलो पार्न नसकिने र अवधि पुनः थप्नुपर्ने निष्कर्ष सहित सरकारलाई प्रस्ताव गरेको थियाे । लकडाउनकाे स्वरूप फेर्नेबारे प्रधानमन्त्री र मन्त्रीहरूबीच छलफल भएकाे थियाे ।
कोरोना संक्रमण फैलन नदिन लकडाउन तथा सामाजिक दूरी र प्रतिबन्धात्मक कार्यक्रम नै प्रभावकारी रहेको भन्दै विश्व स्वास्थ्य संगठनले समेत लकडाउन तत्काल फुकुवा गर्न नहुने सुझाव दिँदै आएको छ । हालसम्म काेराेना भाइरसकाे प्रभावकारी उपचार पत्ता लाग्न सकेकाे छैन, जसकारण यसकाे संक्रमणबाट जाेगिने उपाय नै विश्वभरि अपनाइएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु