दसैंमा १ करोड ३७ लाख एसएमएस आदानप्रदान

२०७० कार्तिक १ गते, शुक्रबार

काठमाडौं,१ कात्तिक। नेपाल टेलिकमका ग्राहकले फूलपातीदेखि टीकाको दिनसम्म शुभकामना आदानप्रदान गर्न १ करोड ३७ लाख एसएमएस गरेका छन्। नेपाल टेलिकमका अनुसार दसैंको ४ दिनमा १ करोड ३७ लाख एसएमएस आदानप्रदान भएको छ। पोहोर दसैंको चार दिनभन्दा यो दशैंको चार दिनमा ३ प्रतिशत बढी एसएमएस आदानप्रदान भएको हो। गत दसैंको ४ दिनमा १ करोड ३३ लाख आदानप्रदान भएको थियो। घटस्थापनादेखि टीकाको दिनसम्म त २ करोड १५ लाखभन्दा बढी टेक्स्ट सन्देश आदानप्रदान भएको टेलिकमले जनाएको छ। ‘मोबाइल प्रयोगकर्ता बढ्दै गएपछि एसएमएस गर्ने क्रम पनि बढिरहेको छ,’ टेलिकमका सहप्रवक्ता राजेश जोशीले भने। हरसमय हातमा हुने मोबाइलबाट सन्देश पठाउन सजिलो हुने भएकाले दसैंमा शुभकामना दिनेहरु पनि बढेका हुन्। ‘अझ हामीले दसैंलाई लक्षित गरी मेसेजमा ५० प्रतिशतको छुट दिएका छौं, छुटले पनि मेसेज आदानप्रदानमा सहयोग पुर्‍यायो,’ उनले भने।
नेपाल टेलिकमले एसएमएसबाट दसैंको चार दिनमा करबाहेक ६८ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ। टेलिकमले अघिपछि प्रति एसएमएस करबाहेक एक रुपैयाँ लिने गरेकोमा दसैंको अवसरमा ५० पैसा लिएको थियो। फोन, एसएमएस जस्ता दूरसञ्चार सेवामा सेवा प्रदायकले लिने शुल्कबाहेक १० प्रतिशत दूरसञ्चार सेवा शुल्क र १३ प्रतिशत भ्याट तिर्नुपर्छ।
सबैभन्दा बढी एसएमएस विजया दशमीको अघिल्लो दिन महानवमीका दिन आदानप्रदान भएको छ। टेलिकमका अनुसार महानवमीमा ३७ लाख एसएमएस आदानप्रदान भयो। त्यस्तै अष्टमीमा ३४ लाख र टीकाको दिन ३३ लाख एसएमएस आदनप्रदान भएको थियो। गत वर्षभन्दा टीकाको दिन यो वर्ष १३ प्रतिशतले एसएमएस बढेको टेलिकमले जनाएको छ। फूलपातीको दिनमा भने ३१ लाख एसएमएस भएको थियो। ‘घटनास्थापनादेखि नै एसएमएसबाट शुभकामना दिने क्रम बढे पनि दसैंको चार दिन अत्याधिक रह्यो,’ जोशीले भने ‘ती चार दिन अरुभन्दा शुभकामना सन्देश बढी आदानप्रदान भएको देखिन्छ।’
टेलिकमले कात्तिक १ गतेसम्म एसएमएसमा ५० प्रतिशत छुट दिएको छ। तिहार र छठमा पनि छुट दिने टेलिकमले जनाएको छ। नेपालमा जिएसएम मोबाइलका प्रयोगकर्ता धेरै छन्। त्यसैले जिएसएम मोबाइलबाट नै बढी एसएमएस भएको टेलिकमले जनाएको छ। एनसेल र युटिएलबाट पनि एसएमएस आदनप्रदान भएका थिए। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपाल टेलिकमका ८५ लाख ४० हजार ८ सय ६७ जिएसएम र सिडिएमए मोबाइल प्रयोगकर्ता छन्। त्यस्तै एनसेलको जिएसएम मोबाइल प्रयोगकर्ता १ करोड ६८ लाख ९ हजार ८ सय ५२ छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु