सीमा – बलराम तिमल्सिना

२०७७ बैशाख २६ गते, शुक्रबार

मलाई हरेक सीमाहरू
अगाडि उभिएको दुश्मनजस्ता लाग्छन् !

दुश्मनले पनि भन्छ –
अगाडि नबढ नत्र जे पनि हुन्छ
सीमाले पनि भन्छ-
तेरो रगरग यहींसम्म हो !

मलाई सीमा र दुश्मन एउटै लाग्छ
मलाई दुश्मन र सीमा एउटै लाग्छ !

दुश्मनलाई जित्नु भनेको
सीमा पार गर्नु हो
सीमा पार गर्नु भनेको
दुश्मनलाई जित्नु हो !

मलाई सीमा पार गर्न मजा लाग्छ
मलाई दुश्मनलाई जित्न मजा लाग्छ !

जातका सीमा
धर्मका सीमा
परम्परा र रीतिका सीमा
ज्ञानका सीमा विज्ञानका सीमा
देशका सीमा महादेशका सीमा
यी सबै सीमाहरू
उलङ्घन गर्नु छ मैले !

मलाई सीमाहीन बनेर फैलिनु छ
मलाई सीमा र दुश्मन एउटै लाग्छ !

राज्यका सीमा
कानूनका सीमा
अधिकारका सीमा
कर्तव्यका सीमा
सपना, सोच र कल्पनाका सीमा
आवेग, उत्तेजना र आक्रोशका सीमा
प्रेम, भावना र बिचारका सीमा
वाद, प्रतिवाद र संवादका सीमा
लाज, डर र उत्सुकताका सीमा
मैले सारा सीमाहरू नाघ्नु छ
मैले सीमा-शासित जिन्दगी त्याग्नु छ !

दुखका सीमा, सुखका सीमा
हर्षका सीमा, विस्मातका सीमा
मनोरञ्जनका सीमा ,यातनाका सीमा
मित्रताका सीमा, दुश्मनीका सीमा
एकताका सीमा, संघर्षका सीमा
मैले सारा सीमाहरू भत्काउनु छ
मलाई सीमाहीन जिन्दगी वाँच्नु छ !

आऊ दुश्मनहरू हो आऊ
आऊ सीमाहरू हो आऊ
म तिमीहरूलाई जित्न चाहन्छु
म तिमीहरूलाई पार गर्न चाहन्छु !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार