भाडाको जिन्दगी – बलराम तिमल्सिना

भाडाको शरीर
भाडाकै मस्तिष्क
भाडाकै सरकार
भाडाकै शासन
भाडाकै आसन
भाडाकै हुङ्कार !
भाडाको फुर्ती
भाडाकै तर्क
भाडाकै नाटक !
भाडा सिवाय
खुल्दैन तिम्रो
वुध्दिको फाटक !
हुटिट्याऊँ पाजी
बनेर काजी
आकास थेगिन्न !
डरले झर्ने
पिसावले देशको
इतिहास लेखिन्न !
मुसाको सेना जोडेर
बाघको सिकार गरिन्न
सिन्काको पूल हालेर
भेल बाढीमा तरिन्न !
आँधी र हुरी
छेक्दैन ओढी
पिँडालु पातले !
लड्दैन युध्द
दुश्मनसँग
लाछीको जातले !
देखाउन हुनी
धान्दैन जुनी
नक्कली सुनले !
क्रान्तिको मसी
बन्दैन साथी
किनेको खुनले !
दिदैन दूध
प्याए नि दूधै
गोरुको थुनले !
घामको काम
गर्दैन कहिलै
रातको जूनले !
संसारमै दुखी
के भनी सोधे
जवाफ यो छ कि-
मन र मस्तिष्क
आफ्नो नहुने
भाडाको जिन्दगी !