नेकपाद्वारा राहत वितरण

२०७७ जेष्ठ ११ गते, आईतवार


काठमाडाैँ, ११ जेठ । नेपाल कम्युनिस्ट पार्टीले झापाका विभिन्न स्थानमा राहत वितरण गरेको छ । कोरोनाका कारण गरिब, मजदुर, सुकुमबासी लगायतका जनसमुदायलाई खाद्यान्नमा परेको असरलाई मध्यनजर गर्दै झापाको दमक नगरपालिका, कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिका गरी पहिलो चरणमा खाद्यान्न वितरण गरेको हो ।
दमक नगरपालिकास्थित वडा नम्बर १ र २ मा सुकुमबासी, गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको १ सय घरपरिवारमा, कनकाई नगरपालिकामा २० घरपरिवार र शिवसताक्षी नगरपालिकामा २५ घरपरिवारलाई प्रतिपरिवार १० केजी चामल वितरण गरिएको नेकपा झापाले बताएको छ । हाल पहिलो चरणमा १४५ घरपरिवारलाई राहत वितरण गरेको र राहत वितरण कार्यक्रमलाई परिस्थिति अनुसार अगाडि बढाउने पनि जानकारी गराइएको छ ।
पार्टीले पिडित जनतालाई राहत बाढेको जानकारी दिँदै जनताको निमित्त संघर्ष गरिरहेको हाम्रो पार्टी जनताकालागि जस्तोसुकै परिस्थितिमा सँगै रहेर साथ सहयोग गर्ने जिल्ला सचिव श्रीजंगले बताएका छन् । सरकार जनताकोलागि सेवा गर्नुको सट्टा कमिसनको खेलमा व्यस्त रहेको बताउँदै उनले भने, ‘हामीमाथिको प्रतिबन्धले जनताको सेवा गर्न कुनै बाधा पुर्याउने छैन । राहत कार्यक्रमलाई अझै सशक्त ढंगले अगाडि बढाउने छौँ ।’

प्रतिक्रियाहरु

[anycomment]