इच्छुक ! बिहानीको घामको झुल्कासँगै आऊ – झपेन्द्रराज बैद्य

आफ्ना रगतले सिंचेको
ढकमक्क फूलहरु फुल्दा
श्रमिकहरुले भारी बिसाउादा
झूपुडिहरुमा हाँसो पस्दा
इच्छुक! घामको झुल्का सँगै आऊ
बिजय जूलुशमा मशाल लिएर
सामन्त र दलाल ढलेको हेर्न
इच्छुक! ज्वाला मुखी भएर आऊ।
भागिसके सहयोद्धाहरु
संग्रामी मैदान छोडिसके
तर संग्राम त चलिरहेछ
बिछोडमा पनि
जनसँस्कृतिका पर्याय इच्छुक!
प्रतिरोधी स्वरहरु उठिरहेछन्।
बस्ती बस्ती जुर्मुराइ रहेछन्।
गाउँ गाउँ जुटिरहेछन्।
मादल,बन्दुक र कलमको
समायोजक इच्छुक
क्रन्तिकारी सौंदर्यका प्रतिक
क्रान्तिका एक उज्जवल आदर्श
बनपाखामा अझै पनि
युद्धका गीतहरु पोखिरहेछन्
रक्त्याम्म माटो माथि
कलाका मञ्जिल खडाभैरहेछन्।
महाकालीले संगीत भरिरहेछ।
सुनकोशीले बिउँझाईरहेछ दुनिया।
सुन्दर जीवनका जीजिबीषाहरु
बिद्रुप बनिरहेछन्।
आस्थाका केन्द्र इच्छुक!
ढुङ्गालाई केही हुदैन।
तर मान्छेको मुटु खान्छ।
कस्तो दर्दनाक यातना !!
यातनामाथि यातना
बन्दुक सोझाउदै बोल्यो
आत्मसमपर्ण गर अन्यथा मर मर।
तर इच्छुक आगो आगो भएर भने
‘कायर कायरहरु!
मेरो देश भक्ति मर्दैन
मेरो मुटु झिके पनि। ’
कस्तो तन्मयता अनि सौर्यता
एउटा देशभक्त योद्धाको बलिदानी।
उनको नाम भजाएर खानेहरु छन्
सत्ताको स्वाद चाखेर
मोजमस्ती गर्नेहरु पनि छन्।
त्गसैको नाम हो लम्पसारबाद
अन्तमा बिसर्जनबाद
जसले इच्छुकका सुन्दर सपना
भत्काउने दुस्साहस गरे।
कम्युनिष्टको खोल ओढेर
जनता ठग्ने र तर्साउने
चुनाबी नौटंकी बाजा बजाउने
सेना लगाउने अनि चुनाब गराउने
शान्तिपूर्ण बिरोधमा गिरफ्तार
समाउछन् घरघरमा पत्रकार
चुनाब चिन्ह दिन डराउने
श्रीपेच बिनाका राजा
पञ्चायत भन्दा एक कदम अगाडि
हिन्दू धर्म लादिएको
धर्म निरपेक्षता,
पहिचान बिनाको संघीयता
सिक्कीमीकरण र फसिबाद
बिदेशी शक्ति केन्द्रको आर्शिबाद
भन्न सक्दैनन् आजकल
बिस्तारबाद मूर्दाबाद!
होशियार होशियार!
आत्मसमर्पणबाद होशियार!
इच्छुकका सपनाहरु फुलिरहेछन्
रनबन
रसियन क्रान्तिले गोर्की जन्माए जस्तै
चिनिया क्रान्तिले लुसुन साधक बनायो
महान जनयुद्धले सौन्दर्य चिन्तक इच्छुक
र इच्छुकको आदर्श फुलायो,
इच्छुक सबै देशभक्तका साझा
प्रेरणाका स्रोत र ओत हुन्।
उनी बिशाल छन् आकासजस्तै
सानो संकीर्णतामा अड्दैनन् उनी
उदात्त र उद्दीप्त शहीद हुन्।
जडसूत्र होइन उनी सिर्जनशील छन्
सुधारबाद होइन
क्रान्तिका अग्रदुत उनी
सर्बहाराबादी बिश्व दृष्टिकोण उनको
पार्टी भन्दा माथि उनी
बाच्ने छन् जुनी जुनी।
बिडम्बना! कम्युनिष्ट भन्नेहरुले
उनको नाम लिन डराउँछन्
पुर्वाग्रहको खेती गर्नेहरु
न आफू गर्छन् न अरुलाई दिन्छन्
यस्तै यस्तै गर्छन्
घुमिफिरी रुम्जाटार जान्छन्
क्रातिन्को एउटा सिङ्को नभाचनेले
इच्छुकको अनादर गरिरहेका हुन्छन्।
साथी हो! इच्छुक त क्रन्तिका पर्याय हुन।
महङ्गी छ अत्याचार छ
कमिशन खोर छ, बेरोजगारी छ।
यसैले त जनजीबिका र जनतन्त्रको लागि
भोका नाङ्गाहरु जुर्मुराइरहेछन्
इच्छुक! तुफानी बनेर आऊ
क्रन्तिको बिगुल फुकिरहेको बेला
सगरमाथा चुम्ने नयाँ बिहानीमा
इच्छुक! चिराग लिएर आऊ। आऊ।
इच्छुक नयाँ बिहानीमा
घामको झुल्कोसँग आऊ।
घामको झुल्कोसंगै आऊ।
( प्रेस स्वतन्त्रता सेनानी)
जेष्ठ १३। २०७४