बोल सुष्मा , तिमी बोल -सावित्री अधिकारी

२०७७ जेष्ठ २८ गते, बुधबार

पश्चिम रुकुममा भएको नरसंहारले हाम्रो समाजमा तरङ्ग पैदा गरेको छ । महामारी (कोभिड १९) कोरोनासँग विश्व लडिरहेको छ बाँच्नका निम्ति । हाम्रो समाज भने कथित उपल्लो जातकी केटीलाई माया गरेको निहुँमा छजना होनहार युवाहरू दिनदहाडै मारिएको घटनालाई उत्सव बनाइरहेको छ । हेर्दा लाग्छ, यहाँ जात, वर्गभन्दा पनि बलियो र कमजोरको लडाइँ चलिरहेको छ । जहाँसुकै यसकै चर्चा छ । समाज एक, देश एक तर मान्छेअनुसार फरक कुरा, फरक धारणा । कसैलाई त्यो घटना ठिक हो भन्ने लाग्छ भने कसैलाई बेठिक । ठुलो जातकी छोरीले किन सानो जातसँग माया–पिरती गाँस्नुपरेको ? जातीयतले जरो गाडेको रुढिवादी समाज छ भन्ने थाहा पाउँदा–पाउँदै किन विवाह गर्न खोजेको ? ठुलो जातकी छोरीसँग विवाह गर्न त ठुलै जातमा जन्मिनुपर्छ नि ! यस्ता संवादले चोकचोक र गल्लीगल्लीमा ठाउँ पाएको छ । जजसले जेजे बोले पनि, जति आवाज उठाए पनि पीडित पक्ष कमजोर छ । मैले प्रयोग गरेको कमजोर शब्दलाई कृपया कसैले पनि अन्यथा नलिनु होला । यो सम्भ्रान्त मानसिकताले मानिसलाई विभाजन गरेर दिएको चिनारी हो । तसर्थ म भन्छु, आज पनि त्यस्तै नरसंहार रच्ने मानसिकता बलियो भएर आएको छ । सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजन, रेडियो, एफएम अनि जनजनको बोलीमा कहीँ पनि पीडित नवराजको आवाज बलियो भएर आएको म देख्दिनँ । अब त यस्तो लाग्छ, नवराज र उसका लागि प्राण दिने दौँतरीहरूले न्याय पाउने आशा पनि मरिसक्यो ।
आज मेरी बालसङ्गी रेणुको जन्मदिन रहेछ । सामाजिक सञ्जाल फेसबुकमा बाल्यकालदेखि आजका दिनसम्मका फोटोहरू सर्सर्ती हेरेँ । २०५७ सालमा जिल्ला सम्मेलन हुँदा भेट भएको थियो रेणुसँग । रेणु र म एकै उमेरका दौँतरी । म त्यस बेलाको (फुल टाइम) योद्धा, जम्मा १२ वर्षकी । यस समाजको परिवर्तन, वर्गीय मुक्ति, जातीय मुक्ति, लैङ्गिक मुक्ति, भौगोलिक मुक्ति अनि सिङ्गो देशको मुक्तिका निम्ति ७ कक्षा पढ्दा–पढ्दै होमिएकी युद्धमा । नहोमिनु पनि कसरी ! प्रहरी घरमा आएर राती–राती कपडा खोलेर नाङ्गो पारी आँगनमा उभ्याउँथे, गाली र पिटाइको लेखाजोखा नै हुँदैनथ्यो । अपमान नै जीवन हो जस्तो लाग्थ्यो । कसुर थियो त केवल स्कुल इकाइको अध्यक्ष भएको । घरमा बस्दा अस्मिता लुटिने डर । मानसिक तथा शारीरिक यातना खप्न नसकी होमिएकी त्यस युद्धमा । बुवा, आमा, भाइ, बहिनी कसैलाई थाहा नदिई सुटुक्क दाइदिदीहरूको हात समाएर घर छोडेकी थिएँ । जनमुक्तिका लागि एक योद्धा बन्दाको खुसी अनि परिवार एवं साथीसङ्गी छोडी हिँड्दाको पीडाले विह्वल भएकी म त्यसको बयान गर्न सक्दिनँ । रेणु पनि त्यस्तै ११–१२ वर्षकी । स्कुलको फ्रक र सर्ट लगाएकी । टिमको लिडर बनेर आएकी रेणुले बोलेको, काम गरेको देख्दा म सारै प्रभावित भएकी थिएँ । हामीले सुटुक्क गफ पनि गरेका थियौँ । त्यस बेलाका सेना हामी, कलाकार हामी, विद्यार्थी हामी, भान्से हामी अनि नेता पनि हामी । उमेरले के छेक्नु, के रोक्नु ? एक मेसिनजसरी लागेका । अरू कुरा गर्न, खेल्न कहाँबाट फुर्सद हुनु ? कुरा हुन्थ्यो त पार्टीको, जनताको अनि देशको । शारीरिक रूपमा काममा जति खटे पनि मानसिक रूपमा हामी खुसी थियौँ । हामीले
जनतासँग होस् वा आफ्ना टिमका दाजुभाइसँग होस्, कहिल्यै असुरक्षित महसुस गरेनौँ । ती पुराना दिनहरू सम्झिरहन त मन छैन तर आज म सम्झिन बाध्य छु । त्यस बेलाको युवाको चेतना र अहिलेको युवाको चेतनाको तुलना गर्दछु । अहँ, आकाश र जमिनको फरक छ । आज हाम्रो युद्धको सुप्रिम कमान्डरले धोका नदिएको भए ! हो, म धोका भन्छु । हाम्रो लक्ष्य, उद्देश्य पुरा नहुँदै धोका दिएर हाम्रो प्रिय सेना अनि सङ्गठनलाई बेचेर घँुडा नटेकेको भए, आज संसदवादी दलमा विलीन नभएको भए अनि शक्तिको मोहमा नडुबेको भए कथित उपल्लो जातकी केटीलाई माया गरेको निहुँमा त्यो नरसंहार मच्चिने थिएन होला । हिजो त्यस चेतनाको विकास भइसकेको थियो, जहाँ रेणु एक किशोरी, निडर बनी हिँड्न सक्थी अनि म कहिल्यै नदेखेको परिवर्तनको प्राप्तिको मिठो कल्पना गर्दै योद्धा बनी लड्न सक्थेँ । हामी सबै सुरक्षित थियौँ । त्यो एक चेतना थियो । चेतना विचारले पैदा गर्छ । विचार नीतिबाट आउँदछ । हिजो २०५६–५७ सालतिर विकृतिलाई संस्कृतिको नाम दिई मेला वा जात्रामा जाँड खाँदै हल्लिएर हिँड्नेहरू, केटी जिस्काउनेहरू, पिपासुहरू, एक पार्टीको योद्धा (किशोरी) अगाडि उपस्थित हुँदा थरथर काँपेर आफ्नो बाटो लाग्दथे अनि वातावरणमा शान्ति छाउँथ्यो तर विडम्बना, आज तिनै गुण्डाफटाहाहरूलाई तह लगाउने हाम्रा चेलीहरू रक्सी बेच्न बाध्य छन्, खाडीमा मालिकका खेलौना बनिरहेका छन् । त्यति मात्र नभई सहरका होटल, रेस्टुरेन्ट, बारहरूमा जागिरका नाममा सस्तोमा आफ्नो श्रम बेचिरहेका छन् । गाउँका पाखापखेरामा कहिल्यै नदेखेको सुन्दर समाजको निर्माणको मिठो परिकल्पना गरी रातदिन नभनी हाम्रो रक्षा गर्ने युवाहरू, योद्धाहरू, खाडी मुलुकलगायत विश्वका विभिन्न ठाउँहरूमा एक छाक खाना अनि एक जोर नाना फेर्नका निम्ति आफ्नो अमूल्य श्रम बेचिरहेका छन् । विना कसुर विश्वका विभिन्न जेलहरूमा बसिरहेका छन्, कति त आफन्तसँग बेखबर छन् । उनीहरू कहाँ छन्, के गरिरहेका छन् ? घरपरिवार आफन्तलाई थाहा पनि छैन । बाँकी भएको युवाशक्ति जाँड, रक्सी, रिसोर्ट, नाइट क्लब, डान्स बारमा मस्त छ । अनि, कसले पार्छ नवराजको आवाज बुलन्द ? हाम्रो नयाँ पुस्तासँग केही कुराको आशा राख्ने वातावरण छैन । फेरि, हाम्रो समाजमा ठुला पढेलेखेका बुद्धिजीवी प्रगतिशील मान्छेहरू बोल्न हुँदैन । बोल्यो कि पोल्यो । बोल्यो भने जेल जानुपर्छ । विभिन्न खालका यातना सहनुपर्छ ।
हाम्रो समाजमा विकृति र विसङ्गतिले उहिलेदेखि जरा गाडेको देखिन्छ । युवा पुस्तामा मानवता हराउँदै गएको छ, यो जमात विकृतितिर उन्मुख छ । मान्छे स्वतन्त्र छ, अधिकार छ तर दक्षता छैन । दक्षताविनाको स्वतन्त्रताले विकृतिबाहेक अरू केही जन्माउँदैन । आज छोरी बाबासँग र बहिनी दाइसँग सुरक्षित छैनन् । बेरोजगारी, अशिक्षा, मोबाइल तथा इन्टरनेटमा पहुँच, त्यसको दुरुपयोग, अश्लील भिडियोहरूको बढ्दो ट्रेन्डिङ अनि हिंसात्मक क्रियाकलापमा देखिएको लगावले दिनहुँ विकृत मानसिकता बढ्दै गएको छ ।
प्रेम एक अमूल्य चिज हो । जसको हामी सबैले अनुभव गर्न सक्छाँै र गर्दै आएका पनि छौँ । मन र भावना मिलेपछि प्रेम हुने हो । प्रेमपछिको वैवाहिक सम्बन्ध संसारको उत्कृष्ट वैवाहिक सम्बन्ध हुन्छ । हामी खाना
आफ्नो इच्छाले खान्छौँ, कपडा आफ्नो रोजाइको लगाउँछौँ भने विवाह चाहिँ किन आफ्नो इच्छाले गर्न पाउँदैनौँ ? मन परेको मान्छेसँग विवाह गर्न चाहनुलाई स्वाभाविक मान्न सक्नुपर्छ । जात, धर्म, भुगोल, वर्ग केही कुराले कसैको जीवनसाथी रोज्ने चाहनालाई मार्नुहुँदैन । त्यसैले प्रेम गरेका कारण त्यसरी निर्दोष युवाहरू मारिनु जघन्य अपराध हो ।
त्यसभन्दा ठुलो अपराध हामी सामाजिक सञ्जालहरूमा गर्दै छौँ । सुस्मा बहिनीमाथि विभिन्न खाले गालीगलौज गर्नु महिला हिंसा हो । जातको नाममा, दाइजोको नाममा, छोरा नपाएकामा, सुन्दर नभएको निहुँमा कति नारीहरू घरेलु हिंसामा पर्ने गरेका छन् भने कति जिउँदै जलाइन्छन्, कतिलाई एसिड प्रहार गरी मर्नु न बाँच्नु पारिन्छ । हामीले कहिल्यै हाम्रो समाजमा पुरुषलाई गालीगलौज गरी चरित्रहत्या गरेर मर्न बाध्य पारिएको सुनेका छौँ ? देखेका छौँ ? छैनौँ । त्यसो भए सुस्मालाई यति अपमान किन ? एक युवतीको एक युवासँग मन मिल्यो । गाउँ, समाज र घरपरिवारले मायामा बाधा ग¥यो । ‘तिमीविना म बाँच्न सक्दिनँ, मलाई लिन आऊ’ भनी बोलाउँदा सुस्माको के गल्ती ? उनले सिङ्गो जीवन बाँच्न बाँकी छ, त्यसको जिम्मेवारी कसले लिन्छ ? १७ वर्षकी केटीले यस समाजमा विवाह गरेर सुन्दर संसार बसाउन पाउने कि नपाउने ? सुस्माको जीवन किन बर्बाद पार्दै छौँ हामी ? उनले आफूलाई माया गर्ने मान्छे गुमाएकी छिन् अनि आफ्नो मायालुलाई माया गर्ने दौँतरी पनि । विवेकशील मानिएका हामी मानवले मानवको भावनाको कदर गर्न जान्नुपर्छ । सुस्माका लागि जीवनभरि नवराजकी हुन नसकेकी दुलही अनि त्यो नरसंहारको कलंक भएर बाँच्नुपर्ने वातावरण बनाउनुहुँदैन । बरु उनलाई माया, सहानुभूति र साथको खाँचो भएकाले हामीले आत्मीयता प्रकट गर्नुपर्छ ।
गणतान्त्रिक मुलुक हाम्रो देशमा राष्ट्रपति महिला हुनुहुन्छ । राष्ट्रपतिज्यू जानकी मन्दिर जनकपुर जाँदा एक विधवा आइमाईले मन्दिर छोएको भनी मन्दिर शुद्धीकरण गर्ने हाम्रो समाजमा हजारौँ निर्मलाहरूको दिनदिनै बलात्कार हुन्छ र जीवनको पूर्वार्धलाई पनि राम्रोसँग नभोगी अकालमै उनीहरू मारिन्छन् तर तिनले न्याय कहिल्यै पाउँदैनन् । जीवनभरि अदालतको ढोका धाउँदा–धाउँदै तिनका आमाबाबाको एक दिन प्राण जान्छ । पीडक हाँसेरै बाँच्छ, त्यसको विपरीत पीडित पक्षले रोई–रोई जीवन गुजार्नुपर्छ ।
सुस्मा एक नारी हुन्, उनलाई बाँच्न दिनुपर्छ, माया र सम्मान दिनुपर्छ । कानुनी राज्यमा यस्तो याचना गरौँ कसरी ? नगरौँ भने सुस्माजस्ता नारीले ससम्मान बाँच्न पाउँदैनन् कि भन्ने डरले सताइरहन्छ । हाम्रो समाजका युवायुवती चेतनशील भइदिएको भए आज नवराज र उसका दौँतरीहरूले ज्यान गुमाउनुपर्ने थिएन । अझै ढिला भइसकेको छैन । अब कसैले नवराज वि.क बन्नु नपरोस् भनी हामी सबै युवाहरू जातीयताको सङ्कीर्णताबाट माथि उठेर मान्छे भई अगाडि बढ्नुपर्छ । अरूबाट आशा गरेर पर्खने होइन, सुरु हामीबाटै गर्नुपर्छ । तसर्थ, एकपटक सोचौँ, हामीले जुन खालको समाजको निर्माण गर्दै छौँ, त्यस समाजमा के हामी आफैँ सुरक्षित छौँ ? के हाम्रा छोराछोरी सुरक्षित छन् ? के हाम्रा भाइबहिनीहरू सुरक्षित छन् ? आज रुकुममा त्यो नरसंहार गर्ने
दुश्चेतनाको विकास भएको छ भने भोलि अर्को ठाउँमा नहोला भन्न सकिन्न । यसरी ठुलाले सानालाई, बलियाले निर्धालाई दबाउने हिंसात्मक चेतनाको विकास हुँदै जाँदा हामी कहीँ पनि सुरक्षित हुँदैनौँ । अहिलेको राष्ट्रको प्रमुख जिम्मेवारी भनेको दोषी कोही नउम्कियून् र निर्दोष कोही नफसून् भन्ने हो । यस परिप्रेक्ष्यमा निर्दोष सुस्मालाई किन सताइँदै छ त ?
बहिनी सुस्मा ! तिमीले आफूलाई माया गर्ने मान्छे अनि तिम्रो मायालुलाई माया गर्ने मान्छेहरू पनि ग्ुमाएकी छ्यौ । तिम्रा आफ्नाका कारण रचिएको षड्यन्त्रमा परेका तिनीहरू कहिल्यै फर्किनेछैनन् । हरेस नखाऊ । तिम्रा सामु तिम्रो पुरा जीवन छ । तिमी मात्र १७ वर्षकी भयौ । तिम्रो जीवनमा कोही आउनेछ, फेरि तिम्रो सुन्दर संसार बस्नेछ । त्यसका निम्ति तिमी आफैँ लड्न्ुपर्छ । जातीय, वर्गीय एवं लैङ्गिक मुक्तिका निम्ति हामी ११–१२ वर्षको उमेरमा युद्धको ज्वालामा होमिएका थियौँ । त्यस बेला हामी हाम्रा अग्रज नेतामा निर्भर भएर काम गथ्र्यौँ । हामीलाई धोका हुन्छ भन्ने कल्पना पनि गरेनौँ तर हामीलाई धोका भयो । लक्ष्य प्राप्त नगर्दै हाम्रा नेताले घुँडा टेके । उनीहरूले असम्भव देखेको लक्ष्य प्राप्ति अनि सम्पूर्ण मुक्तिका निम्ति हामी आज पनि सङ्घर्षमा छौँ ।
हाम्रो समाजमा अरू नवराज नबनून्, अरू आमाका काखहरू नरित्तियून् अनि अरू युवतीहरूले तिमीले जस्तो पीडा भोग्नु नपरोस् भन्नका लागि सबैभन्दा पहिला तिमी बाहिर निस्क त्यस पीडाबाट । अनि, भनिदेऊ जनताको अदालतमा, सबै सत्यतथ्य । तिम्रो फोन रेकर्ड सुनेँ । त्यो तिम्रो मनकोे आवाज होइन जस्तो लाग्यो । सायद, तिमी दबाब र पीडाले अताल्लिएकी छ्यौ होला । हाम्रो समाजको युवा पुस्ताबाट आशा गर्न सक्ने वातावरण म देख्दिनँ । घरको बन्द कोठाभित्र बसेर रुँदैमा तिम्रो नबु सरकारले न्याय पाउँछ जस्तो लागेको छ भने त्यो तिम्रो भ्रम हुनेछ । तिमीले बुझ्ने बेला ढिलो भइसकेको हुनेछ । भ्रमको पर्दालाई च्यातेर रक्तबीजलाई नाश गर्न बीराङ्गना बनेर आऊ । मैले अगि भनिसकेँ, पीडाको आवाज दबेको हुन्छ । पीडा दिनेको अट्टहास बलियो देखिन्छ । त्यसैले न्यायको रणभूमिमा योद्धा बनेर आऊ । सबै दोषीले सजाय पाउनेछन् । तिम्रो नब्ु अनि उसका दौँतरीहरूका आत्माले शान्ति पाउनेछन् । सबैलाई न्याय दिलाउने तागत तिमीसँग मात्र छ । अब कसैलाई नवराज र सुस्मा बन्न नदेऊ । निस्क, सुष्मा निस्क !!

प्रतिक्रियाहरु

[anycomment]