युवा संघद्वारा सरीता गिरीलाई सांसद पदबाट हटाउन माग
काठमाडौँ , २८ जेठ । सत्तासिन नेकपानिकट राष्ट्रिय युवा संघले संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको भन्दै एक हप्ता भित्र सांसद पदबाट हटाउन चेतावनी दिएको छ । संघले गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दलहरुलाई माग गरेको छ । त्यसै गरी यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
संघका सयोजक राम प्रसाद सापकोटा दिपशिखा र सहसयोजक रमेश पौडेलले एक विज्ञपित जारी गरी यस्तो चेतावनी दिएकी हुन् । विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौँ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहान्छौँ ।’
नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई संघले स्मरण गराएको छ ।
संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ तथा सहसंयोजक रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदको सदस्य निर्वाचित भइ कार्यकाल संहाल्नु अघि संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ ।’