काठमाडौँ उपत्यकालगायत देशभर एमसीसीविरुद्ध पोस्टर टाँस
काठमाडौँ , २८ जेठ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँ उपत्यकालगायत देशभर एमसीसीविरुद्ध पोस्टर टाँसेको छ । यसैक्रममा आज सो पार्टीनिकट जनगणतान्तिक सम्पर्क मञ्चले राष्ट्रघाती एमसीसी परियोजनाको विरोध गर्दै ललितपुर जिप्रका र मानभवनवरिपरि पोस्टर टाँसेको छ भने काठमाडौँमा बागबजारस्थित भक्तपुर बसपार्क, नयाँबानेश्वर, म्हैपी मन्दिर र म्हैपी बिटवरिपरि, बालाजु पुल, वनस्थलीदेखि भगवानचोकसम्म, चण्डोल, चप्पल करखाना, जोरपाटी मेडिकल कलेजदेखि अत्तरखेलसम्म पोस्टर टाँसिएको छ । यसैगरी वसुन्धरा चोक, प्रतीक्षालय र चौकी, मेनरोडवरिपरि, बौद्ध, टोखा, मालपोत वरिपरि, भूतखेल, टोखा बजार, सामाखुसी, रानीबारी, गोंगबुदेखि कपुरधारा जाने रोड, टोखा खरीबोट र लैनचौरमा पौस्टर टाँसेको प्राप्त समाचारमा उल्लेख छ ।
यता , नेपाल कम्युनिस्ट पार्टी दाङले घाेराही बजार, तुलसीपुर, बिजाैरी, नारायणपुर, रामपुर, लमही लगायत जिल्लाभर पाेष्टर टाँसेकाे जनाएको छ । यस्तै राप्ती ब्युरोका अन्य जिल्ला, नारायणी ब्युरोभर, काठमाडौं, ललितपुर लगायत देशभर पाेष्टर टाँसेकाे जनाएको छ । उक्त पार्टीले एमसीसीविरुद्धकाे संघर्ष कार्यक्रमअन्तर्गत यसअघि देशव्यापी एमसीसी सम्झौता पत्र जलाउनुका साथै मसालजुलुस, प्ले कार्ड प्रचार तथा प्रदर्शन गरिसकेको छ । नेपालका आम नागरिक, देशभक्त, बुद्धिजीवी र राजनीतिक पार्टीहरूले निरन्तर विरोध गर्दै रोकिँदै आएको अमेरिकी अतिक्रमणकारी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसदबाट पास गर्न खोजिरहेको भन्दै केपी अाेली, शेर बहादुर देउवाको पुतला समेत देशभर दहन गरिसकेको छ ।