यातायात मजदुर सङ्घद्वारा सरकारलाई बाँच्ने व्यवस्था गरिदिन वा सडक सङ्घर्षको सामना गर्न चेतावनी
काठमाडौँ, ४ असार । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले लकडाउन सुरु गरेको दिन गत चैत ११ गतेदखि अहिलेसम्म सार्वजनिक यातायातका साधन सञ्चालन गर्न नपाएकाले मजदुरहरु रोग र भोकको सिकार हुन बाध्य भएकाले बाँच्ने व्यवस्था गरिदिन वा सडक सङ्घर्षको सामना गर्न चेतावनी दिएको छ ।
केन्द्रीय समितिका तर्फबाट लालबहादुरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘चैत ११ गतेदेखि आजको दिनसम्म यातायात मजदुर रोगको सिकार र भोको प्यासले छट्पटाइरहेका छन् । न राज्यले कुनै व्यवस्था गरेको छ, न त कुनै पनि राहतको व्यवस्था भएको छ । चुलो कसरी बाल्ने र बालबच्चा कसरी पाल्ने भन्ने भइरहेको अवस्थामा सार्वजनिक यातायातका साधन चल्न दिइएको छैन । जीविका धान्न मुस्किल भइरहेकाले यातायात मजदुरलाई बाँच्नका लागि व्यवस्था गरिदिनुपर्छ, होइन भने अवस्था हेरी मजदुरले बैङ्कसँग लिएको ऋणले यातायात सञ्चालन गरेको हुँदा बन्दभरिको ब्याज मिनाहा गर्न सरकारले पहल गरिदिनुपर्छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले यो कुरा सुनुवाइ नगरेमा सम्पूर्ण यातायात मजदुर सडक सङ्घर्षमा उत्रिन बाध्य हुनेछन् । सङ्घर्षले निम्त्याउने परिणामको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्नेछ ।’