नेपाल कम्युनिस्ट पार्टीद्वारा एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन : एमसीसीविरुद्ध र राष्ट्रियता रक्षाका पक्षमा एक हुन आम जनसमुदायहरूलाई आग्रह
काठमाडौँ , ६ असार । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने सरकारी कदमका विरुद्ध शुक्रबार देशव्यापी प्रदर्शन गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रमअनुसार नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठनको आयोजनामा शुक्रबार देशैभर विरोध प्रदर्शन गरेका हुन् । यसअघि एमसीसीविरुद्ध पर्चा, पम्प्लेटिङ, कोणसभा, मशाल जुलुस, पुतला जलाउने, गोष्ठी, अन्तरक्रियालगायत विभिन्न किसिमका आन्दोलन गरिसकेको नेकपाले एमसीसी परियोजनाका विरुद्ध र राष्ट्रियता रक्षाका पक्षमा एक हुन सम्पूर्ण देशभक्त, क्रान्तिकारी, वामपन्थी, राष्ट्रवादी, बुद्धिजीवि र जनसमुदायहरूलाई आग्रहसमेत गरेको छ ।
अमेरिकी परियोजना एमसीसी नेपालको हितविरुद्ध भएको र उक्त परियोजना संसदबाट पारित भई लागू भए नेपाल पराधीन बन्ने भन्दै उक्त परियोजना पारित नगर्न सरकारमाथि चौतर्फी दबाब परिरहेको छ । अमेरिकी परियोजना एमसीसी नेपालमा लागू भए नेपाली भूमि दुरुपयोग गरेर अमेरिकाले नेपालको राष्ट्रियता र सार्वभौमसत्ताविरुद्ध गतिविधि गर्ने र चीनविरोधी गतिविधि गर्ने खतरा बढ्ने नेकपाको निष्कर्ष छ । सरकारी पार्टीभित्रै पनि एमसीसीविरुद्ध चर्को आवाज उठिरहेको छ । सरकारी नेकपाले बनाएको एमसीसी अध्ययन कार्यदलले उक्त सम्झौता कार्यान्वयन गर्नु नहुने सुझाव दिएको थियो । तर, प्रधानमन्त्री केपी वली र संसद्को प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले संसदबाट एमसीसी पारित गर्ने निर्णय गरिसकेका छन् । केपी वली र शेरबहादुर देउवा जनमतविरुद्ध एमसीसी पारित गराएरै छोड्ने हठमा छन् ।
एमसीसी परियोजना नेपालको संसदबाट पास गरिएमा नेपालको सार्वभौमिकता गुम्ने र विदेशी र विशेषगरी अमेरिकी साम्राज्यवादको युद्धस्थल बन्ने भन्दै नेकपालगायत विभिन्न राजनीतिक पार्टी र अन्य देशभक्त शक्तिहरूले आवाज उठाइरहेका छन् । नेकपाका महासचिव विप्लवले वक्तव्य जारी गरी एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन संसदवादी दलहरूलाई चेतावनी दिँदै देशव्यापी आन्दोलन घोषणा गरेका थिए । गत जेठ १८ गते घोषित आन्दोलनअनुसार देशभर पर्चा, पम्प्लेटिङ, मशाल जुलुस, कोणसभा, एमसीसी सम्झौता जलाउने, केपी र शेरबहादुर देउवाको पुतला जलाउने कार्यक्रम सम्पन्न भइसकेका छन् भने त्यसैको सिलसिलामा आज देशव्यापी प्रदर्शन भइरहेको हो । एमसीसीविरुद्ध आन्दोलन घोषणा गर्दै नेकपा महासचिव विप्लवले भनेका थिए, ‘नेपालका आमनागरिक, देशभक्त, बुद्धिजीवि र राजनीतिक पार्टीहरूले निरन्तर विरोध गर्दै रोकिँदै आएको अमेरिकी अतिक्रमणकारी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई केपी सरकारले नेपाली काँग्रेसको समर्थनमा संसदबाट पास गर्न खोजिरहेको विषयप्रति हाम्रो पार्टीको ध्यान गम्भीर प्रकारले आकर्षित भएको छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका विरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकपाभित्र पनि पास गर्नु हुँदैन भन्ने पक्ष देखापर्नुलाई पार्टीले सकारात्मक महत्वका रूपमा लिएको छ । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ । साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ ।’
एमसीसीविरुद्ध वक्तव्य प्रकाशित गर्दै पार्टी महासचिव विप्लवले भनेका थिए, ‘हामी एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ । जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवि, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध गर्दछौँ । साथै नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिन चाहन्छ । त्यसबाट पैदा हुने परिस्थितिको जिम्मेवार सरकार, संसद र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने पनि स्पष्ट गर्दछ ।’ स्मरणीय छ, नेकपाका कयौँ जिल्ला समितिहरूले समेत एमसीसी पारित गरेमा सांसदहरूलाई जिल्ला प्रवेश गर्न नदिने निर्णय सार्वजनिक गरिसकेका छन् ।
यसैक्रममा , नेपाल कम्युनिस्ट पार्टीद्वारा शुक्रबार आयोजित एमसीसीविरुद्धको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँको सुन्धारामा आयोजित उक्त बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर ६ जना गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र सो पार्टीनिकट जनबर्गीय संगठनहरुले संयुक्तरुपमा बिरोध प्रदर्शन गरेका हुन् । एमसीसीविरुद्ध संघर्षको शंखघोष गरेको सो पार्टीले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको एमसीसी सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दै सरकारी नेकपालगायत सबै राजनीतिक दललाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह समेत गरेको छ । उसले एमसीसीको बिरुद्धमा उत्रन आमनेपाली देशभक्त आमनागरिक, बुद्धिजीवि र राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन आव्हान गर्दै आउँदो असार ५ गते पार्टीले देशव्यापीरुपमा गर्न लागेको बिरोध प्रदर्शनमा सहभागी हुन् समेत सबैलाई आग्रह समेत गरेको छ ।
यसैगरी, नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौँको ज्याठामा एमसीसीविरुद्ध प्रदर्शन गर्दै ¥याली निकालेको छ । प्राप्त समाचारअनुसार मञ्चकी केन्द्रीय सदस्य सफलाको नेतृत्वमा काठमाडौँको ज्याठामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर, दलाल सरकार मूर्दावाद, अमेरिकी साम्राज्यवाद मूर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावादलगायत नारा लगाएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीले पहिलो चरणको संघर्षका कार्यक्रमअन्तर्गत जेठ १९ र २० गते देशब्यापी रुपमा एमसीसी सम्झौता र २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाएको थियो भने २२ गते देशब्यापी रुपमा पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकालेको थियो भने जेठ २८ गतेदेखि देशव्यापी रुपमा पोस्टर टाँस्ने कार्य गरि रहेको छ ।
यसैगरी , राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने सरकारी कदमका विरुद्ध सम्झौता खारेजको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी चितवनले विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ । प्राप्त समाचारअनुसार राप्ती नगरपालिकाको गड्यौली साना किसान चोकमा -यालीसहित कोणसभा भएको छ । कोणसभालाई युवा संगठन नेपाल चितवनका अध्यक्ष राम सेढाइँले सम्बोधन गरेका थिए । रत्न नगरपालिका र कालिका नगरपालिकाको बीचमा पर्ने अमेलिया भन्ने स्थानमा प्रदर्शनसहित कोणसभा भएको थियो । त्यसैगरी भरतपुर महानगरपालिकाको मुख्य राजमार्ग भरतपुर रिजाल चोकमा अखिल (क्रान्तिकारी)ले प्ले कार्डसहित प्रदर्शन गरेका थिए । मकवानपुर जिल्लाको थाह नगरपालिकाको बज्रबाराहीमा ¥यालीसहित कोणसभा भएको थियो त्यसैगरी हेटौडा उप–महानगरपालिका वडा नं. ६ चौघडा, गढी गाउँपालिका वडा नं. १, मनहरी गाउँपालिका वडा नं. ७ मसिने, मकवानपुरकै राङ्सीराङ ८ मा प्ले कार्डसहित प्रदर्शन गरी कोणसभा सम्पन्न भएको समाचार प्राप्त भएको छ ।
यसैगरी धादिङ जिल्लाको धार्के गाउँपालिका र बारा जिल्लाको अमलेसपुर र गोरीयाको बीचमा प्रदर्शनसहित कोणसभा भएको छ ।
यता, नेपाल कम्युनिस्ट पार्टी रामेछापले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै खबरदारी र जनप्रदर्शन सम्पन्न गरेको छ । प्रदर्शनकारीहरू अमेरिकी साम्राज्यवादका विरुद्ध र दलाल सामाजिक फासिवादी केपी वली नेतृत्वको सरकारका विरुद्ध चर्को नारा लगाउँदै कोणसभामा सहभागी भएका थिए । कोणसभालाई खाँडादेवी गापा इन्चार्ज पुष्पले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा पुष्पले एमसीसी नेपाली जनताको हितमा नभएको, विशुद्ध साम्राज्यवादको नीति लागू गर्न मात्र घुसाइएको हुनाले यो राष्ट्रघाती परियोजनालाई सचेत क्रान्तिकारी, राष्ट्रवादी शक्तिहरूले प्रतिकार गर्नु आवश्यक रहेको बताए । उनले यो परियोजना लागू गरिएमा नेपाल पनि सिरिया र अफगानिस्तानजस्तै युद्धभूमिमा परिणत हुने भएकाले यो राष्ट्रघाती र जनविरोधी परियोजनालाई खारेज गर्नुशिवाय अरू विकल्प नभएको बताए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी दोलखाले एमसीसी पास गराउने खोज्ने प्रधानमन्त्री केपी वली र काँग्रेस सभापति शेरबहादुर देउवाको पुतला बनाई तामाकोसी बजारमा नाराजुलुससहित पीपलको रूखमा साङ्केतिक फासी दिएको छ । प्रदर्शनका क्रममा नेकपाका कार्यकर्ताहरूले दलालहरू होसियार, नेकपा जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, एमसीसी पास गराउन पाइँदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गरलगायत नारा लगाएका थिए । प्रदर्शनको नेतृत्व ५ नं. इलाका सेक्रेटेरीले गरेको समाचारमा जनाइएको छ ।