आज अन्तर्राष्ट्रिय योग दिवस

२०७७ असार ७ गते, आईतवार

काठमाडौं , ७ असार । अन्तर्राष्ट्रिय योग दिवस। सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ । नेपालमा भने माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको छ । योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गर्ने भएका छन् । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ ।
योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । यस वर्ष दिवसको नारा ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने रहेको छ ।
नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ । भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ । शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण नै शुरु भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]