अखिल क्रान्तिकारीद्वारा अनलाइन क्लासको नाममा शुल्क नलिन चेतावनी
काठमाडौँ , १० असार । अखिल क्रान्तिकारीले प्याब्सन, एनप्याब्सन केन्द्रीय समितिले सञ्चालन गरेको भनी लकडाउन अवधि २०७७ को शुल्क तिर्न र २०७६ को बाँकी शुल्क तिर्न आमविद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी गरेको अनुरोधप्रति हाम्रो सङ्गठन अखिल क्रान्तिकारी घोर निन्दा एवम् भत्र्सना गरेको छ।
अखिल क्रान्तिकारी मकवानपुरका जिल्ला अध्यक्ष अनिलले विज्ञप्ति जारी गर्दै शुल्क लिन बन्द नगरेमा र लिइएको शुल्क फिर्ता नगरेमा कडा सङ्घर्ष गर्ने चेतावनी दिएका छन् ।
अनिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वमा अदृश्य रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) सँग मानव जाति बाँच्नका लागि सङ्घर्ष गरिरहेको छ । विश्वमा कोरोना भाइरसका कारण लाखौँ मानिसहरु सङ्क्रमित र मरिरहेका विवरणहरु हामीसामु स्पष्ट छन् । मुलुकमा यतिबेला कोरोना महामारीको मौका पारी भ्रष्टाचार, कालोबजारी, महँगी, हिंंसा, बलात्कार, हत्यालगायत घटनाहरु बढेर विकराल रूप लिँदासम्म नेपाल सरकार गैरजिम्मेवार रहेको प्रति हाम्रो सङ्गठन अखिल क्रान्तिकारी आपत्ति जनाउँदछ । मुलुकमा कोरोनाका कारण मानवीय क्षति र आर्थिक स्थिति सङ्कटग्रस्ट छ । यस्तो स्थितिमा प्याब्सन, एनप्याब्सन केन्द्रीय समितिले लकडाउनको समयमा पनि अनलाइन क्लास सञ्चालन गरेको भनी लकडाउन अवधि २०७७ को शुल्क तिर्न र २०७६ को बाँकी शुल्क तिर्न आमविद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी गरेको अनुरोधप्रति हाम्रो सङ्गठन अखिल क्रान्तिकारी घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘मकवानपुर जिल्लाका सन्दर्भमा प्याब्सन, एनप्याब्सन मकवानपुरको आदेशमा निजी शैक्षिक संस्थाले शुल्क लिइरहेको र कतिपय सरकारी विद्यालयले भर्नाका नाममा सहयोगस्वरूप आर्थिक सङ्कलन गरिरहेको भनी प्राप्त जानकारीअनुसार उक्त कार्य नगर्न–नगराउन निजी शैक्षिक संस्था र सरकारी विद्यालयललाई हाम्रो सङ्गठन अखिल क्रान्तिकारी जिल्ला समिति विनम्र अनुरोध गर्दछ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘निजी शैक्षिक संस्थाले शुल्क लिइरहेको खण्डमा वा लिएको शुल्क फिर्ता नगराएको खण्डमा हाम्रो सङ्गठन आन्दोलनसहितको सङ्घर्षको बाटोमा जानेछ । उक्त आन्दोलनसहितको सङ्घर्षले निम्त्याएको क्षतिको जिम्मेवार र जबाफदेही स्वयम् संस्था नै हुनुपर्नेछ ।’