काभ्रेमा निर्वाचन निषेधित क्षेत्र घोषणा
काभ्रेपलाञ्चोक, १० कात्तिक । नेकपा–माओवादीले काभ्रेको कोशीपारी भेगलाई निर्वाचन निषेधित क्षेत्र घोषणा गरेको छ ।उसले त्यस क्षेत्रमा कुनै पनि पार्टीलाई चुनावी प्रचार–प्रसारमा प्रवेश गर्न नदिने घोषणा गरेको हो । केन्द्रिय सदस्य एवं पूर्व जिल्ला इञ्चार्ज चुडामणि गौतम ‘हेमक’ ले निषेधित क्षेत्र घोषणा गरेको स्वीकार गर्दै चुनावी प्रचार–प्रसारमा जाने जुन सुकै दलहरुको प्रतिकार गरिने चेतवानी दिए ।उनले कोशीपारी क्षेत्र आफूहरुको आधार इलाका समेत रहेको दाबी गर्दै चुनावको सक्रिय बहिष्कार गर्ने र जबजस्र्ती प्रचार–प्रसारमा दलहरु कोशीपारी प्रवेश गरे त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणाम सामना गर्न स्वयमं दलहरु नै तयार हुनुपर्ने बताए । कोशीपाीमा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ९ र ४ अन्तर्गत ८ वटा गरी १७ वटा गाविस रहेका छन् ।माओवादीले कोशीपारी क्षेत्रलाई आधार इलाकाको रुपमा विकास गर्दै चुनाव बहिष्कार आन्दोलनलाई कोशीपारी केन्द्रित गर्न पार्टीको सबै शक्ति परिचालन गर्ने केहि समय अघि बसेको जिल्ला कमिटी बैठकले निर्णय गरिसकेको स्रोतले बताएको छ ।
यसैबिच, निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेकपा-माओवादीका तीन जना जिल्ला नेतालाई उदयपुरमा पक्राउ गरिएको छ ।जिल्लाको कटारीस्थित त्रिवेणी-९ बाट नेकपा-माओवादीका पर्शुराम पोखरेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।
त्रिवेणीमा निर्वाचन बहिष्कार गर्नका लागि शान्तिपूर्ण रुपमा पम्प्लेटसहित प्रचार-प्रसार गरिरहेको बेला पोखरेललाई पक्राउ गरिएको बताइएको छ ।