कार्की पार्टीको कार्यकर्ता होइनन् : माओवादी
कार्तिक १०, काठमाडौं । नेकपा–माओवादीले हितयार सहित पक्राउ परेका सुमित कार्की आफ्नो पार्टीको कार्यकर्ता नभएको बताएको छ । कार्कीलाई आफ्नो पार्टीसँग जोडेर आइतवारका केही संचारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकषर्ण भएको भन्दै नेकपा –माओवादी भक्तपुर जिल्लाले आज एक विज्ञाप्ती जारी गरी पक्राउ परेका सुमित कार्की भनिने व्यक्ति आफ्नो पार्टीको कार्यकर्ता नभएको बताएका छन् । ‘पक्राउ परेका सुमित भनिने व्यक्ति हाम्रो पार्टीको कुनै पनि निकायमा छैनन् र उनी सँग पार्टीको कुनै सम्पर्क छैनन्’ जारी विज्ञाप्तीमा भनिएको छ । माओवादीले आफ्नो चुनाव बहिस्कार शान्तिपूर्ण भएकाले त्यस्तो हतियार आफ्ना कार्यकर्तासँग नभएको पनि बताएको छ । आफूहरुको शान्तिपूर्ण बहिस्कारलाई उत्तेजित बनाउने योजनाका साथ पार्टीको सम्पर्कमा नभएका व्यक्तिलाई पार्टीको कार्यकर्ता भनेर प्रचार गरिएको भन्दै विज्ञाप्तीमा आपत्ति जनाइएको छ । ‘हाम्रो शान्तिपूर्ण बहिस्कारलाई भ्रमित र उत्तेजित बनाउन योजनाका साथ हाम्रो पार्टीसँग अपराधिक गतिविधिमा लागेका व्यक्तिलाई मुछिएको प्रति गम्भिर आपत्ति छ’ विज्ञाप्तीमा भनिएको छ । समाज हुने यस्ता अपराधिक गतिविधिलाई पार्टी र शान्तिपूर्ण आन्दोलनसँग नजोड्न आग्रह समेत गरिएको छ ।दोलखाको भिमेश्वर घर बताउने कार्कीलाई सशस्त्र प्रहरीको एक टोलीले शनिबार भक्तपुरबाट हतियार सहित पक्राउ गरेको थियो ।