आज मध्यरातबाट ‘लकडाउन’ अन्त्य !

२०७७ श्रावण ६ गते, मंगलवार


काठमाडौं । कोरोना महामारीका कारण चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य भएको जानकारी दिएक हुन् ।
मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न पाइने , निजी सवारी–साधनमा लगाउँदै आएको जोर–बिजोर प्रणाली पनि हटाइएको र साउन १५ गतेबाट होटल तथा रेस्टुरेन्टहरु सञ्चालन गर्न पाइने निर्णयसमेत गरेको छ ।
हाल होटलहरु बन्द नै छन् भने रेस्टुरेन्टहरुमा ‘प्याकिङ’ र ‘टेक अवे’ सेवामात्र दिने अनुमति छ । तर, सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न भने पाइने छैन ।
सरकारका प्रवक्ता डा. खतिवडाले ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने जानकारी दिए । हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको उनको भनाइ छ । सरकारी कार्यालयमा हाल भइरहेको दुई ‘सिफ्ट’को व्यवस्था पनि अन्त्य गरिएको छ । अब विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने मन्त्री डा. खतिवडाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]