नेकपाद्वारा सम्पूर्ण राजबन्दीहरुलाई निसर्त रिहा नगरे प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सेती महाकाली ब्युरो इन्चार्ज अाेम प्रकाश पुनसहित विभिन्न जिल्लामा रहेका सम्पूर्ण राजबन्दीहरुलाई सम्मानजनक र निसर्त रिहाइ नगरे अागामी दिनमा निकै ठूलो प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीका सेती महाकाली ब्युरो कार्यालय सचिव छविलालले अाज एक प्रेस विज्ञप्ति जारी गरि यस्तो चेतावनी दिएका हुन् । उनले साउन ६ गते बन्दलगायत ३ गतेदेखि ८ गतेसम्म घोषित सङ्घर्षका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जनाएका छन ।
सरकारले नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन र महिला नेत्री पूर्णिमा धामीलाई गिरफ्तार गरेपछि नेकपाको सेती–महाकाली ब्युरोले ५ दिने सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो जसअन्तर्गत त्यस क्षेत्रमा साउन ६ गते १ दिने सेती–मकाकाली बन्दको आह्वानसमेत गरिएको थियो । यस्तै ३ दिनसम्म त्यस क्षेत्रमा सरकारी गाडी सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो ।
नेकपाको सेती–महाकाली ब्युरो कार्यालय सचिव छविलालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीले आयोजना गरेका सङ्घर्षका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारीसहित जनदमनकारी राज्यका विरुद्धको प्रतिरोध सङ्घर्षमा नैतिक र भौतिक समर्थन गर्ने सेती–महाकालीका सम्पूर्ण न्यायप्रेमी जनतालाई हार्दिक धन्यवाद दिएका छन् ।
पार्टी कामको सिलसिलामा रहेको बेला सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेको भन्दै नेकपाका महासचिव विप्लवले आफ्नो पार्टी पङ्क्तिलाई आवश्यक रक्षा र प्रतिरोध गर्न निर्देशन दिएका थिए ।