युवतीमाथि एसिड प्रहार गर्ने पक्राउ

काठमाडौं । ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने र प्रहार गर्न लगाउने दुईजना पक्राउ परेका छन् । बिहीबार राति ८ बजेतिरको घटना भएपनि प्रहरीले उनीहरुलाई घटनाको २ घण्टा भित्रै पक्राउ गर्न सफल भएको छ । घरबाट दही किन्न भनेर निस्किएकी कार्की माथि एसिड प्रहार भएको हो । अनुहारमा एसिड परेपछि उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ ।
पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुरका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मद रहेका छन् । पक्राउ पर्ने आलम डल्लुमा कवाडी पसल सञ्चालन गर्दै आएका व्यक्ति र मुन्ना उनकै पसलमा काम गर्ने कामदार भएको प्रहरीले जनाएको छ । आलमकै निर्देशनमा मुन्नाले युवतिमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । सो क्रममा मुन्नाको हातमा पनि एसिडले पोलेको छ । अर्कै युवकलाई मन पराएको भन्दै युवतिमाथि आलमले एसिड प्रहार गर्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।