स्कुटरको डिकीमा राखेको पैसा चोरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले स्कुटरको डिकीमा राखेको पैसा चोरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बानेश्वर प्रहरी वृत्तद्वारा पक्राउ परेका प्रदीप कार्कीले स्कुटरको डिकी खोलेर चोरी गर्ने गरेको पाइएको हो । ‘स्कुटरको ४०/५० वटै मास्टर चाबी बोकेर पार्किङ गरेर राखिएका वेला डिकी खोल्ने गरेको पाइएको छ’, ज्ञवालीले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार एक जना पूर्वप्रहरी अधिकृतको छोराको स्कुटरबाट एक लाख रुपैयाँ चोरी भएको विषयमा अनुसन्धान गर्दै जाँदा कार्की पक्राउ परेका थिए । र, अन्य थुप्रै चोरीका घटनामा पनि उनको संलग्नता खुलेको छ । उनीविरुद्ध चोरी सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।