सर्वोच्चद्वारा न्यायालयका विषयमा अनावश्यक टीका–टिप्पणी नगर्न आग्रह

२०७७ श्रावण १२ गते, सोमबार


काठमाडौं । सर्वोच्च अदालतले आज एक विज्ञप्ति जारी गर्दै न्याय सम्पादनका आफ्नै सिद्धान्त र मान्यता भएकाले उक्त विषयमा टीका–टिप्पणी नगर्न आग्रह गरेको छ । सर्वोच्चले न्याय सम्पादनका क्रममा कुनै त्रूटि भए त्यसलाई निर्धारित विधि र प्रक्रियाअनुरुप सच्याइने सक्ने समेत जनाएको छ ।
पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्धामा सर्वोच्चले हालै गरेको फैसलाबारे गम्भीर प्रश्न उठिरहेको बेला सर्वोच्चले आज एक विज्ञप्ति जारी गर्दै न्याय सम्पादनमा त्रूटि भएको हुनसक्ने भन्दै निर्धारित विधि र प्रक्रियाअनुरुप त्यसलाई सच्याउने बताएको हो ।
सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलद्वारा जारी विज्ञप्तिमा ‘न्याय सम्पादनका क्रममा हुनसक्ने त्रूटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानुनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित गरिएको बेहोरा विदितै छ’, भनिएको छ ।
यस्तै, विचाराधीन अवस्थामा रहेका मुद्दाको काम कारवाही र न्याय सम्पादनमा प्रभाव पार्नेगरी समाचार प्रवाह वा टिकाटिप्पणी नगर्न समेत सम्बद्ध सबैमा अनुरोध गरेको छ । विज्ञप्तिमा अदालतबाट फैसला वा आदेश भइसकेपछि ती फैसला वा आदेशहरु सार्वजनिक स्वामित्वका विषय बन्ने भन्दै फैसला वा आदेशउपर स्वच्छ टिप्पणी वा आलोचना र प्राज्ञिक छलफल हुन सक्ने उल्लेख गरिएको छ । तर भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टिकाटिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ ध्यान जान जरुरी रहेको सर्वोच्चले औंल्याएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]