आजवाट नेपाल सम्वत् ११३४ शुभारम्भ
काठमाडौं, १८ कात्तिक । आजवाट नव वर्ष नेपाल सम्वत् ११३४ शुभारम्भ भएको छ । नव वर्षको पहिलो दिन मुलुकभर आज विभिन्न कार्यक्रमको आयोजना गरी खुसियाली मनाइँदै छ । आजका दिन ल्याय्म्ह पुचः थिमिले शङ्खधर साख्वाःचोक थिमिमा विभिन्न कार्यक्रमको आयोजना गरी नव वर्ष मनाउँदै छ ।
नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुन् । राष्ट्र र राष्ट्रवासीप्रतिको जिम्मेवारी बोध गरी जनतालाई ऋणमोचन गरी नयाँ सम्वत् चलाएको कदरस्वरूप नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्रदान गरेको छ । शङ्खधरले ईस्वी सम्वत् ८८० यो सम्वत् चलाएको इतिहासकार स्व. भुवनलाल प्रधानले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।
सरकारले २०५८ साल मङ्सिर २ गते शङ्खधरलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । नेपाल सम्वत् कुनै जाति विशेषको नभई समस्त नेपालीको मौलिक सम्वत् हो । नेपालमा विसं २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल सम्वत्लाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको थियो ।