२५ गतेको नेपाल बन्द नै निर्णायक : गजुरेल

२०७० कार्तिक २१ गते, बिहीबार

काठमाडौं,२१ कात्तिक ।नेकपा- माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले २५ गते हुने नेपाल बन्दले नै सरकारलाई निर्वाचन सार्न बाध्य पार्ने ठोकुवा गर्दै त्यसपछि बन्दलाई निरन्तरता दिने आवश्यकता नै नपर्ने बताएका छन् । उपाध्यक्ष गौरबले २५ गते साइकलसमेत गुडाउन नदिने बताउदै २५ गतेको बन्दपछि पनि सरकार निर्वाचन सार्न तयार नभए त्यसै दिन ३३ दलको बैठक बसेर थप आन्दोलनको कार्यक्रम ल्याउने बताए । उनले निर्वाचन प्रक्रिया अघि बढाइए सो समयमा मतदातलाई मतदान केन्द्रसम्म पुग्न नदिन बन्द भने कायमै रहने स्पस्ट पारे । बन्द फिर्ता नहुने र सरकार अहिलेकै रवैयामा अघि बढे बन्दले निरन्तरता पाउने उनको भनाइ थियो । उनले नेपाली जनताले १९ दिने जनआन्दोलनको बेला १९ दिनसम्मको बन्द स्वीकारेकाले अहिलेको १० दिन स्विकार्दैनन् कि भन्ने आशंका नगर्न आग्रह गरे । नेपाली जनताले बन्द गरिएको विषयमा खासै आपत्ति प्रकट नगर्ने उनको दाबी थियो ।
आफूहरुले हतियार नउठाउने र बन्द हिंसात्मक नबनाउने बताउँदै गौरबले भने -’दलहरु हामी भूमिगत होउन् भन्ने चाहन्छन् तर हामि भूमिगत हुँदैनौं । नेपाली सेनाका माथिल्ला तहका अधिकारीहरुसँग पनि आफूहरुले कुरा गरेको र उनीहरुले सेना दमन गर्न परिचालित नभएको स्पष्ट पारेको जानकारी दिँदै गौरबले सेनाले बन्दुक ताकेर सुरक्षा दिँदा जनतामा त्रास पैदा हुने र त्यसले आफूहरुको बहिस्कार आन्दोलनलाई मद्दतै पुर्याउने दाबी गरे ।
गौरबले मतदानका दिन मतदातालाई कुनै पनि हालतमा मतदान केन्द्रसम्म आउन नदिने स्पष्ट पार्दै भने ‘निर्वाधरुपमा मतदातालाई मतदान केन्द्रसम्म भने आउन दिँदैनौं, जेलमा राखेको कैदीजस्तो जनतालाई बन्दुकको भरमा मतदान केन्द्रसम्म ल्याउने र घर पुर्याउने सरकारको भनाइ जनतालाई सार्वभौमभन्दा पनि कैदी बन्दी बनाउने काम मात्रै हुनेछ ।’आफूहरुको विरोधका बाबजुद निर्वाचन भए त्यसले मुलुकमा संविधान निर्माण गर्न नसक्ने र गरिहाले पनि त्यसरी जारी गरिएको संविधान च्यातेर आफूहरुले आगो लगाउने उनले चेतावनी दिए ।राष्ट्रसंघसहितका कुटनीतिक नियोगको वक्तब्यले चुनाव नेपाली जनतालाई भन्दा पनि विदेशीलाई चाहिएको भन्ने आफूहरुको आरोपको पुष्टि गरेको दावी गर्दै यसले नेपालको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय समूदायको हस्तक्षेपको नीति उदाङग भएको गौरबले ठोकुवा गरे ।
‘नेपाल त चौतारोमा राखेको मादल जस्तो भयो, जसले जसरी जुन तालमा बजाए पनि हुने । चुनाव सार्ने कि कस्तो गर्ने भन्ने कुरा हाम्रो आन्तरिक विषय हो, विदेशीले यो विषयमा धेरै जान्ने हुनु पर्दैन ।’भन्दै गौरबले राष्ट्र संघसँग आफूहरुको बन्दको विषयमा लामो कुरा भइसकेको अवस्थामा फेरि विज्ञप्ति निकाल्नुको औचित्य नभएको भन्दै निर्वाचन बहिस्कार गर्नु कानून विपरित हुने भनाइ राष्ट्र संघकै मान्यता विपरीत भएको ठोकुवा गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु