‘होम डेलिभरि अत्यावश्यक सेवा होइन’

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार खाद्य सामग्री घर घरमा ढुवानी गर्ने अत्यावश्यक सेवामा नपरेको भन्दै प्रहरीले त्यसमा रोक लगाएको छ । खाद्यान्न तथा तयारी खाद्यान्न घर–घरमा पुर्याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन गर्न रोक लगाएको हो । जिल्ला प्रशासनले पानी, औषधि र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल जुनसुकै बेला पनि खोल्न पाइने जनाएको छ । तर अत्यावश्यक वस्तुअन्तर्गतका खाद्य, दूध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु आदिका बिक्री भने बिहान सवा ९ बजेसम्म मात्र गर्न पाइने छ । यस बाहेकका होटल, रेष्टुँरा सबैको सेवा बन्द भएकाले होम डेलिभरी र अर्डरका खानेकुरा पनि ओसारपसार गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । बाहिरको खाजा खानाले संक्रमणको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले घरकै खाना खान पनि आग्रह गरेको छ ।
यसैबीच होम डेलिभरी गर्ने विभिन्न संस्थाका पक्राउ परेका ८० जनालाई प्रहरीले हिजो साँझ कागज गराएर छोडेको छ ।