युवा संगठन परिवर्तन गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न

२०७७ भाद्र १७ गते, बुधबार


काठमाडौं । युवा संगठन नेपाल, परिवर्तन गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाका सेक्रेटरी दिनेश विक्रम चन्द प्रमुख अतिथि रहेको भेलाले कुमारको अध्यक्षतमा १७ सदस्यीय परिवर्तन गाउँ कमिटी निर्वाचित गरेको छ ।
उक्त भेलालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश बिक्रम चन्दले युवाहरू नै देश परिवर्तनको मुख्य संवाहक भएकाले सबै तह र तप्काका युवाहरू एकजुट भएर सहिदहरुका अधुरा सपना पूरा गर्दै नेपाली जनताको न्याय, मुक्ति, स्वतन्त्रता, समानता, स्वाधीनता, राष्ट्रियता, जनतन्त्र, जनजीविकाको निम्ति एकीकृत जनक्रान्तिको महान अभियानमा लामबद्ध हुन अपिल गरे । उनले दलाल संसदीय व्यवस्थालाई अन्त्य गर्दै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न युवाहरूको महत्वपूर्ण भुमिका हुने भएकालेे युवाहरु सचेत ढंगले पार्टीको योजना, निर्देशन अनुसार काम कार्वाही गर्दै अगाडि बढ्न शुभकामना दिएका थिए । साथै समाजमा देखिएका विकृती, विसंगति, स्थानीय तहहरुमा भैरहेको भ्रष्टाचार, अनियमितता, लुटपाट, ढिलासुस्ती, अन्याय, अत्याचार, विभेद स्थानीय जनप्रतिनिधिहरुको दादागिरीलाई अन्त्य गर्न र जनताको आवश्यकता अनुसार जनसेवाको कार्यमा एकजुट भएर जुट्न निर्देशन दिएका थिए । प्रमुख अतिथि दिनेशले एक अर्को प्रसंगमा पार्टीले दलाल संसदीय व्यवस्थालाई सदाका लागि अन्त्य गर्दै बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न सबै प्रकारका तयारी गरिरहेकाले जनमुक्ति सेनामा भर्ती हुनको लागि युवाहरू तयारी अबस्थामा बस्न पनि अनुरोध गरे ।
उक्त भेलाका अर्का अतिथि युवा संगठन नेपाल, रोल्पाका अध्यक्ष प्रज्वलले युवाहरू एक भएर दलाल संसदीय व्यवस्थालाई ध्वस्त बनाई वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्न गाउँ गाउँ बस्ती बस्तीबाट जुरमुराउनु पर्ने समय आएको बताए ।
त्यस्तै अर्का अतिथि अखिल(क्रान्तिकारी ) दाङ जिल्लाका सदस्य देबराजले भेला सफलताको शुभकामना दिदै आवश्यक परेको खण्डमा युवा विद्यार्थीहरु कापी कलम र आफ्ना व्यक्तिगत काम छोडेर मुक्तिको निम्ति बलिदान गर्न तयार हुनुपर्ने बताए । एकीकृत जनक्रान्तिलाई उचाइमा पुर्याउन युवा विद्यार्थीहरु उच्च मनोबलका साथ एकजुट भएर लाग्नु पर्ने धारणा राखे ।
भेलामा सहभागी युवाहरूले प्रचण्ड बाबुरामले क्रान्तिलाई बेचेर युवाहरूलाई निराश र अलपत्र बनाइरहेको अबस्थामा विप्लवले पुनः क्रान्तिको झण्डा झुक्न नदिइ क्रान्तिको नेतृत्व गरेर युवाहरूलाई एकताबद्ध गराउदै गर्दा ठुलो आशा पलाएको बताएका थिए । साथै उनीहरुले पार्टी संगठनको निर्देशनमा आफुहरु क्रान्तिको निम्ति जस्तोसुकै जोखिम मोल्न पनि तयार रहेको बताएका थिए ।
युवा संगठन नेपाल, रोल्पाका जिल्ला कमिटी सदस्य एवम् परिवर्तन गाउँ कमिटीका पुर्व अध्यक्ष सुरेन्द्र डाँगीको अध्यक्षतामा भएको कार्यक्रमलाई युवा संगठन नेपाल परिवर्तन गाउँ कमिटीका पुर्व सदस्य राजेन्द्र डाँगीले संचालन गरेका थिए ।
कार्यक्रममा अन्य विशेष अतिथिहरु नेकपा रोल्पाका सल्लाहकार गणेश बुढा, अतिथिहरु युवा संगठन नेपाल, रोल्पाका जिल्ला अध्यक्ष प्रज्ज्वक, परिवर्तन गाउँ कमिटीका सेक्रेटरी कमरेड महेश, अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्यहरु हिमाल, देबराज, चुडामणि, नेकपा परिवर्तन गाउँ कमिटीका एरिया सदस्य डायमण्ड, दलित मुक्ति मोर्चा नेपालका परिवर्तन गाउँ कमिटी अध्यक्ष वृहस्पति, लामो समय जेल जीवन बिताएर आउनु भएका नेकपा परिवर्तन गाउँ कमिटी सदस्य गणेश घर्ती, नेकपा परिवर्तन गाउँ कमिटी ४ नं वडाका सेक्रेटरी हिमाल लगायत उपस्थित थिए ।
कार्यक्रममा स्वागत मन्तव्य नेकपा परिवर्तन गाउँ कमिटी सदस्य जगतले दिएका थिए । सामाजिक दुरी कायम गर्दै करिब १०० जना युवाहरूको उपस्थितिमा भेला भब्य रुपमा सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु