नेकपाको चेतावनीपछि मलका ठेकदारको धरौटी जफत गर्दै कालोसूचीमा राख्ने तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि सरकारले समय मै किसानसमक्ष मल नपुर्याउने शैलुङ कन्स्ट्रक्सन कम्पनी र होविको मल्टीपल कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी जफत गर्ने तयारी गरेको छ । आज बिहान कृषि सामग्री कम्पनी लिमिटेडको बैठकले शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र होमनाथ कोइरालाको होविको मल्टीपललाई समयमा मल नल्याएको भन्दै धरौटी जफत र कालोसूचीमा राख्न सिफारिस गरेको हो । कृषि सामग्री कम्पनी लिमिटेडको दुई कम्पनीको पाँच-पाँच करोड धरौटी जफत गर्ने सिफारिस पछी आज नै कृषि मन्त्रालयले औपचारिक निर्णय गर्ने बताइएको छ ।
शनिबार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले एक वक्तव्य जारी गर्दै देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपुर्ति गर्ने ठेक्का लिएर पुरा नगर्ने कम्पनी एवं ठेकदारलाई कारबाही गर्ने र त्यो वेला राज्यका संचालकहरुले नेपाल कम्युनिष्ट पार्टीलाई कानुन हातमा लियो, आतंक मच्चयो, लोकतन्त्रलाई चुनौति दियो लगायतका तथानाम आरोपहरु लगाउन नपाउने चेतावनी दिएका थिए । नेकपाको सो चेतावनी आएको भोलिपल्टै सरकारले ति कम्पनीको धरौटी जफत गर्दै कालोसूचीमा राख्न लागेको हो ।