अमेरिकाको आसन्न राष्ट्रपति निर्वाचन ह्याकरको निशानामा !

काठमाडौँ । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचन रुस, चीन र इरानसँग सम्बन्ध रहेका ह्याकरहरुको निशानामा परेको छ ।
राष्ट्रपति निर्वाचनसँग जोडिएका व्यक्ति र समूहहरुलाई ती ह्याकरले निशाना बनाएको दाबी माइक्रोसफ्टले गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो बाइडेनको चुनावी अभियानहरु ह्याकरको निशानामा परेको जनाइएको छ । डेमोक्र्याटिक र रिपब्लिकन पार्टीसँग सम्बन्धित दुई भन्दा बढी संस्था रुसी ह्याकरको निशाना रहेको माइक्रोसफ्टले दाब िगरेको हो ।
। यसअघि सन् २०१६ को निर्वाचनमा पनि रुसी हस्तक्षेपका कारण परिणाम उलटपुलट भएको भन्दै अमेरिकामा अझै पनि अनेकन मुद्दा चलिरहेको छ । सोही निर्वाचनमा हस्तक्षेप गर्ने रुसी ह्याकरहरु नै अहिले फेरि सक्रिय भएको माइक्रोसफ्टको दाबी छ ।
चार वर्षअघि डेमोक्र्याटको चुनावी अभियानलाई रुसी ह्याकरले निशाना बनाएका थिए । चार वर्षअघिकै जस्तो गतिविधि फेरि देखिन थालेको माइक्रोसफ्टले जनाएको छ । चिनियाँ ह्याकरले भने बाइडेनको चुनावी अभियानसँग जोडिएका व्यक्तिका इमेलहरुलाई निशाना बनाइरहेको दाबी गरिएको छ । यसका लागि जिर्कोनियम नामक चिनियाँ ह्याकर समूह सक्रिय रहेको जनाइएको छ । उता, इरानी ह्याकरको तारो भने ट्रम्पको चुनावी अभियान बनेको छ । फोस्फोरस नामक इरानी ह्याकर समूह यसका लागि सक्रिय रहेको छ । तर ती ह्याकरहरुको धेरैजसो निशाना सफल हुन भने सकेको छैन । -एजेन्सी