झापामा सिलिण्डर बम विस्फोट
झापा,२७ कात्तिक। झापाको लखनपुर ५ स्थित गेउरीया पुल नजिकै सिलिण्डर बम पड्किएको छ। पाडाजुङी गौरीगन्ज सडक खण्ड अर्न्तगत गेउरीया पुल छेउमा आज दिउँसो २ बजे अज्ञात समुहले सिलिण्डर पड्काएको बताइएको छ । दुई वटा मोटर साइकलमा दक्षिणबाट आएका अपरिचत व्यक्तिहरूले सडकमा सिलिण्डर आगो बालेर लखनपुरतर्फ भागेको स्थानीयले बताए।
निर्वाचनजन्य क्रियाकलाबमा त्रास सिर्जना उद्देश्यले सिलिण्डर पड्काएको हुन सक्ने दमक प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजन अधिकारीले घटनाको बिषयमा अनुसन्धान भईरहेको र अहिलेसम्म यस कार्यमा संलग्नहरुको पहिचान खुल्न नसकेको बताए।
घटनापछि प्रहरीले क्षेत्र नं. ७ र ६ मा कडा सुरक्षा ब्यवस्था मिलाएको बताएको छ। यस्ता प्रकारका घटना हुन नदिन र यस्तो कार्यमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्नका लागि बिशेष टोली परिचालन गरिएको बताइएको छ ।