‘सुगा’ जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौँ । सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी ‘एलडीपी’ले ७१ बर्षिय योशिहिडे सुगालाई संसदीय दलको नेतामा चयन गरेसँगै उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । आगामी बुधबार बस्ने संसदको बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेछ । जापानी संसदमा एलडीपीको बहुमत भएकाले त्यो चुनाव औपचाकिता मात्रै हुनेछ । सत्तारुढ दलका सांसदहरुबीच भएको मतदानमा सुगा स्पष्ट मतसहित संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वीमा पूर्वरक्षामन्त्री शिगेरु इशिबा र पूर्वविदेशमन्त्री फुमियो किशिदा रहेका थिए । सुगाले ३ सय ७७ मत प्राप्त गर्दा किशिदाले ८९ र इशिबाले ६८ मत प्राप्त गरे । संसदीय दलको नेता छान्नका लागि सत्तारुढ दलका ३ सय ९४ सांसद, स्थानीय तहका १ सय ४१ प्रतिनिधि र पार्टीका वरिष्ठ नेताहरुले मतदान गरेका हुन् ।
गत अगस्ट २८ मा शिन्जो आबेले स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएपछि जापानका नयाँ प्रधानमन्त्री चुन्नका लागि सत्तारुढ दलमा निर्वाचन भएको हो । नयाँ प्रधानमन्त्रीले सन् दुई हजार एक्काइसको सेप्टेम्बरसम्म कार्यभार सम्हाल्नेछन् । -एजेन्सी