३२ नयाँ हिमाल आरोहणका लागि खुला गर्न सुझाव

२०७० कार्तिक २८ गते, बिहीबार


काठमाडौं,२८ कार्तिक । पर्यटकीय आकर्षणका रूपमा रहेका थप ३२ वटा हिमाल आरोहणका लागि खुला गर्न सरकारलाई सुझाव दिइएको छ। पर्वतारोहण सलामी दस्तुर पुनरावलोकन तथा आरोहण सुधार सुझाउ समितिले सरकारलाई यस्तो सुझाउ दिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित समितिले पर्यटकीय सम्भावना भएका हिमाल खोल्न सरकारलाई सुझाएको छ। आठ हजार मिटरमाथिको एक यालुङ खाङ वेस्ट, मुस्ताङको भृकुटीको नयाँ नामकरण गरी बनाइएको यूआईएएए पिकसहित मेचीदेखि महाकालीसम्मका ३२ वटा हिमाल खुला गर्न सरकारलाई सुझाउ दिएको भट्टराईले जानकारी दिए। उनका अनुसार नेपालमा एक हजार तीन सयभन्दा बढी हिमाल भए पनि पहिचान भएका र पर्वतारोहीले नै माग गरेका आधारमा नयाँ हिमाल खोल्न सरकारलाई सुझाब दिइएको हो।
सरकारले हाल तीन सय २६ वटा हिमाल आरोहणका लागि खुला गरेको भए पनि एक सयभन्दा बढीमा भने हालसम्म मानव पाइला परेको छैन। यी मध्ये कतिपय हिमाल प्रविधिक रूपले आरोहणका लागि कठिन मानिएका छन्। यसअघि नेपाल पर्वतारोहण संघ (एनएमए) ले एक सय चारवटा हिमाल निजी क्षेत्रलाई प्रवद्र्धनको जिम्मा दिन सरकारसमक्ष माग गरेको थियो। सरकारले भने २३ वटा हिमालमात्रै दिने निर्णय गरेको छ। संघले हाल ३३ हिमाल आरोहणका लागि अनुमति प्रदान गर्दै आएको छ। थप २३ पछि एनएमएबाट आरोहण अनुमति जारी हुने हिमालको संख्या ५६ पुग्नेर भएको छ।धेरै हिमाल एकैपटक खोलेर सबैमा एकैपटक पर्यटक पुर्यारउन नसकिने भएकाले आरोहीकै चाहनाअनुसार सम्भावना भएका ६ हजार मिटरमाथिका थप हिमाल खुला गर्न लागिएको भट्टराईको भनाइ छ। सन् २००४ पछि नेपालमा कुनै पनि हिमाल खुला नभएको र बर्सेनि आरोहण समीक्षा गर्दै थप हिमाल खोल्न पर्यटन मन्त्रालयले एक संयन्त्र नै बनाएको पनि भट्टराईले बताए। समितिले चार महिना लगाएर तयार पारेको यस्तो अध्ययन प्रतिवेदन तीन दिनअगाडि पर्यटनमन्त्रीलाई बुझाएको छ।समितिले हिमाल आरोहणमा व्यक्तिगत रूपमा आरोहण दस्तुर तोक्न सुझाउ दिएको छ। हाल सगरमाथा आरोहण गर्न १० जनाभन्दा बढीको टोली भएको अवस्थामा प्रतिव्यक्ति १० हजार र अन्य अवस्थामा २५ हजार अमेरिकी डलर सलामी दस्तुर सरकारलाई बुझाउनुपर्ने प्रावधान छ। यस्तो प्रावधानका कारण सरकारी राजस्व छल्न कृत्रिम टोली बनाउने क्रम बढ्न थालेकाले पनि प्रतिव्यक्ति आरोहण शुल्क तोकने समितिको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार नेपाली र विदेशी आरोहीका लागि छुट्टाछुट्टै आरोहण शुल्क तोक्‍न सकिने उल्लेख छ। यसअघि नेपाली टोलीले हिमाल आरोहणमा विदेशी सरहको शुल्क तोकिएको छ। नेपालीले यस्तो आरोहण दस्तुर तिर्न नसेको अवस्था देखाएमा सरकारी निर्णयबाट सलामी मिनाह गर्ने व्यवस्था थियो।समितिले नेपाल पर्वतारोहण संघबाट प्रदान हुने आरोहण अनुमतिका ३३ हिमाल र सरकारी तबरबाट अनुमति लिनुपर्ने हिमालको रोयल्टीमा एकरूपता ल्याउने, सगरमाथा आरोहणका क्रममा छोटो सयम, अक्सिजनबिना र धेरैपटकमा लागि मात्रै कीर्तिमान कायम गर्न अनुमति दिने भएको छ। कीर्तिमानका नाममा पर्वतारोहणबाहेकका गतिविधि बढेकोले यसलाई नियन्त्रण गर्न नयाँ व्यवस्था गर्ने सुझाउ प्रतिवेदनले औंल्याएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार