पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ सहित ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ११५४ जना कोरोना संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । काठमाडौं उपत्यकामा थपिएका ६ सय ७४ जनामध्ये काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना रहेका छन् । त्यस्तै बढी संख्यामा संक्रमित हुने जिल्लाहरुमा मोरङ १ सय ७, सप्तरी ४७, रौतहटमा २९, कास्की १८, नवलपरासी २४, सुर्खेत २८, कैलाली ३७ रहेका छन् । अहिले देशभरका आइसोलेशनमा १७ हजार ६ सय ११ जना रहेका छन् । तिमध्ये ८ हजार ६ सय ९० होम आइसोलेसन र ८ हजार ९ सय २१ संस्थागत आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घन्टामा १ सय ५ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ । डिस्चार्ज हुने ७२ दशमलम ४ प्रतिशत रहेको छ । देशभरि क्वारेन्टिनमा ७ हजार ४ सय ३ जना रहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ९ लाख २३ हजार ८ सय २३ वटा पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घन्टामा थप १६ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १३ जना पुरुष रहेका छन् । मकवानपुर, ललितपुर र दोलखाका एक एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै बाँके, भक्तपुर र काठमाडौंमा दुई, दुई जना र झापा, सुनसरी, पर्सा, मकवानपुर, ललितपुर, चितवन, रुपन्देहीमा एक एक जना पुरुषको पनि मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ । संक्रमित हुनेमध्ये शून्य दशमलव ७ प्रतिशतको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ९६ जनाको आईसीयुमा र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।