बुटवल–नारायणगढ सडक अवरुद्ध

२०७७ आश्विन ८ गते, बिहीबार


काठमाडौँ । अविरल वर्षाका कारण नवलपुरको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक मोहोन खाँडले जानकारी दिए । दाउन्नेमा ५ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडकमा पहिरो झरेपछि सवारी साधनहरू बिहानैदेखि राजमार्गमा रोकिएका छन् । लगातार पानी परेका कारण पहिरो हटाउन समस्या भएको बताइएको छ ।
यता , अर्घाखाँचीमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे—सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका दहखोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए । जिल्लाको मुख्य सडक अवरुद्व भएपछि सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । जल तथा मौसम विज्ञान विभागले पछिल्लो ६ घण्टा भारी बर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
यता , पहिरोले पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको हाम्रा संवाददाता सागर न्यौपानेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ । अन्य चार जना अझै बेपत्ता छन् । एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु