हुम्लाका सहायक प्रजिअद्वारा गल्ती स्वीकार

२०७७ आश्विन ९ गते, शुक्रबार


काठमाडौँ । नेपाली भूभाग चीनले अतिक्रमण गरेको भन्ने विषमा गलत अभिव्यक्ति दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले गृहमन्त्रालयलाई स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको भन्दै स्पष्टीकरण दिएका छन । दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै गृहले मागेको स्पष्टीकरणमा आफुबाट गल्ती भएकाे भन्दै माफी मागेका छन ।
गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उहाँले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख गरेका छन । सहायक प्रजिअ हमालले नाम्खा गाउँपालिका–६ लिमीमा ११ नम्बर सीमास्तम्भ नै गायब भएको र चीनले एकतर्फी रूपमा भौतिक संरचना बनाएको भन्दै छानबिनका लागि स्थलगत प्रतिवेदन तयार पारी गृहमा पठाएका थिए ।
त्यसपछि गृहले नापी विभागसँग जानकारी लिएको थियो । नापीले पनि अतिक्रमण भनेर गलत हल्ला चलाएको भन्दै छानबिन हुनुपर्ने सुझाव दिएको थियो । परराष्ट्र मन्त्रालयले पनि गलत प्रतिवेदन बनाउने अधिकारीसँग स्पष्टीकरण सोध्न गृहको ध्यानाकर्षण गराएको थियो ।

प्रतिवेदन पठाएपछि हमालले विभिन्न सञ्चारमाध्यमलाई चीनबाट भूमि अतिक्रमण भएको र छानबिनका लागि गृहमा पत्र पठाइसकेको जानकारी दिनुभएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]