खुला ब्यायामशाला सञ्चालन

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–९, स्युचाटारमा खुला ब्यायामशाला सञ्चालनमा आएको छ । करिब ११ रोपनी क्षेत्रफलमा बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई समेट्ने गरी खुला पार्क निर्माण गरिएको तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए । ‘नगरवासीलाई स्वस्थ्य बनाउनका लागि पहिलो पटक खुला ब्यायामशालाको अवधारणा ल्याएको हो’, अध्यक्ष बुढाथोकीले भने, ‘बच्चादेखि जेष्ठ नागरिकसम्मलाई स्वस्थ्य राख्ने अभियानअन्तर्गत खुला ब्यायामशालासहितको पार्क निर्माण गरिएको हो ।’
पार्कमा आउटडोर ब्यायामशालासँगै मर्निङ वाक ट्रयाक, बाल उद्यान, बहुउद्देशीय कभर्डहल, सेभेन ए साइड फुटबल मैदानलगायतका पूर्वाधार निर्माण गरिएको छ । फिटनेस पार्कमा ब्यायामका लागि अत्याधुनिक विभिन्न १६ वटा उपकरण जडान गरिएको छ । जहाँ सबै उमेर समूहका मानिसले जुनसुकै समयमा पनि ब्यायाम गर्न सक्ने छन् ।
तारकेश्वर युवा क्लबका अध्यक्ष बुढाथोकीले पहिलो चरणमा खुला ब्यायामशाला निर्माण सम्पन्न गरी उद्घाटन गरिएको जनाउँदै यो आर्थिक वर्षभित्र अन्य सबै पूर्वाधार निर्माण सम्पन्न गरिसक्ने जानकारी दिए ।