थबाङबासीले भोट नहाल्ने

२०७० मंसिर ३ गते, सोमबार


रोल्पा,३ मंसिर । जनयुद्धको राजधनीबाट चिनिएको रोल्पा जिल्लाको थवाङमा चुनावमा भोट हाल्न केही घण्टा बाँकी रहँदा पनि न त चुनावी चहलपहल छ न उत्साह नै । थबाङबासीको दिनचर्या पहिलेको जस्तै छ । विहानदेखि साझसम्म आफ्नो घरायसी काममै व्यस्त छन् थबाङबासी ।
नयाँ कुरा त भएछ भने, आइतबार निर्वाचन गराउन खटिएका कर्मचारी टोलीले निष्पक्ष र धाँधलीरहित चुनावका लागि प्रतिवद्धता माग्न सर्वदलीय र सर्वपक्षीय बैठक बोलायो । बैठकमा निर्वाचनमा सहभागी दलका कुनै पनि उम्मेद्वार र प्रतिनिधि सहभागी भएनन् तर बैठकमा बहिष्कारबादी नेकपा माओवादीका जिल्ला सहइन्चार्ज जयप्रकाश रोकामगर मात्र उपस्थिति भए । कर्मचारीहरु त एक पटक मुख हेराहर नै भए । चुनावमा सहभागी दल वा उम्मेदवारका प्रतिनिधि बैठकमा नआउनु र बहिस्कारवादी नेता बैठकमा आउनु नौलो कुरा पनि भयो कर्मचारीहरुको लागि । यस्तो किन रैछ भनि बुझ्दा त थबाङमा अरु पार्टीका प्रतिनिधिहरु रैनछन् एक कर्मचारीले भने ।
माओवादीका जिल्ला सहइन्चार्ज रोकामगरको नेतृत्वमा गएको टोलीले कर्मचारीले डाकेको बैठकमा सहभागीको इज्जत बचाइदियो । रोकामगरले बैठकमा भने, “तपाईहरु शान्तिपूर्ण रुपमा चुनाव गराउनुस् हामी सहयोग गछौं ।” आफूहरुले जनतालाई चुनाव बहिस्कारको अपिल गरिसकेको भन्दै सहइन्चार्ज रोकामगरले “थबाङबासीले भोट हाल्दैनन् र कर्मचारीले खाली मतपेटीका बोकेर जान्छन्” बताए । एकपक्षिय रुपमा गरेको यो चुनावमा आफूहरुले भोट नहाल्ने एक मतदाताले बताए । उनले अघिल्लो पटक एमाओवादी प्रचण्डलाई भोट हालेको बताए । प्रचण्डले आफ्नो मतको दुरुयोग गरेकाले यो पटक कसैलाई भोट नहाल्ने उनले बताए । थबाङबासीले नेकपा—माओवादीले आह्वान गरेको चुनाव बहिस्कारलाई समर्थन गर्दै शून्य मतदानको तयारी गरिरहेका छन् ।
कात्तिक ७ गते क्षेत्र नम्बर १ की एमाओवादी उम्मेदवार ओनसरी घर्तीलाई थवाङबासीले बहिस्कार गरेका थिए । त्यसपछि एमाओवादी र कुनै पनि पार्टी भोट माग्न आउने हिम्मत नै गरेनन् ।

प्रतिक्रियाहरु

[anycomment]