सहकारी बचतमा उल्लेख्य वृद्धि

२०७० मंसिर ३ गते, सोमबार


काठमाडौ, ३ मंसिर । बैंक वित्तीय संस्थामा ग्राहक पहिचानको नियम कडा बनाइएपछि सहकारीमा बचत राख्ने क्रम बढेको हो । आर्थिक वर्ष २०६९/७० मा सहकारीको बचत १९ अर्ब रुपैयाँले बढेको छ ।सहकारी विभागले उपलब्ध गराएको तथ्यांकअनुसार ७० असारसम्म सहकारी संस्थामा १ खर्ब ५२ अर्ब रुपैयाँ बचत छ । जुन अघिल्लो वर्ष १ खर्ब ३९ अर्ब रुपैयाँ थियो ।गएको वर्ष ओरियन्टल, गुणलगायतका ठूला सहकारीमा देखिएको समस्या अझै समाधान भएको छैन । २६ वटा सहकारीलाई सरकारले गठन गरेको एक कार्यदलले समस्याग्रस्त घोषणा गरेको छ । कमजोर कानुन भएका कारण सुशासन नभएका सहकारीमा राखिएको बचतमा जोखिम बढ्दै गएको छ । तर पनि बचत बढ्दै जानुमा स्रोतको सोधखोज नहुनु प्रमुख कारण देखिन्छ । तर सहकारी विभाग बचत वृद्धिलाई ठूलो भन्न नमिल्ने बताउँछ । ‘बचतको वृद्धिलाई त्यति धेरै अस्वाभाविक भन्न मिल्दैन,’ सहकारी विभागका रजिस्टार केदार न्यौपानले भने, ‘स्वाभाविक अवस्थामा पनि यतिको वृद्धि देखिन्छ ।’
एक वर्षअघिबाट राष्ट्र बैंकले ग्राहक पहिचानको कामलाई कडाइका साथ लागू गरिरहेको छ । सम्पत्ति शुद्धीकरण निवारणको कानुन -एन्टी मनी लन्डरिङ) को पालना गर्दै राष्ट्र बैंकले आफ्नो मातहत रहेका सबै संस्थालाई ग्राहकको पहिचान दुरुस्त राख्न निर्देशन दिएको हो । जुन लागू हुँदा स्रोतबिनाका सम्पत्तिमाथि प्रश्न उठ्ने डरले रकम सहकारीतर्फ मोडिएको हो ।’ठूला सहकारीमा समस्या आइरहँदा यति धेरै रकम यही क्षेत्रमा बढ्नुपर्ने कारण देखिंदैन,’ एक सहकारी विज्ञले भने, ‘स्रोत देखाउन नसक्ने सबैले रकम सजिलै सहकारीमा राख्न सक्छन् ।’
राष्ट्र बैंकमा दर्ता भएका बाहेक सहकारी संस्थामा भने सम्पत्ति शुद्धीकरणको कानुन लागू भइसकेको छैन । कुनै सोधखोजबेगर सजिलै रकम राख्न सकिने भएकाले बचत बढ्दै गएको हो । आफ्ना सदस्यबाहिर पनि कारोबार गर्ने भएकाले सहकारीमा रकम राख्न र ऋण लिन सजिलो छ । न्यौपाने पछिल्लो समय सम्पत्ति शुद्धीकरण निवारणको कानुन लागू गर्ने तयारी भइरहेको बताउँछन् । ‘हामीले यसको तयारी थालेका छौं,’ उनले भने, ‘सुरु हुने क्रममै छ ।’ तर बैंक वित्तीय संस्थामा जस्तो सजिलै ग्राहक पहिचानको तथ्याकं संकलन गर्न सहकारीमा सजिलो छैन । यस्तो तथ्यांक सुरु भए रकम सहकारीबाट पनि बाहिरिने सम्भावना छ ।नियमअनुसार सहकारीमा सेयर पुँजीको १० गुणाभन्दा बढी रकम बचतमा राख्न पाइँदैन । त्यसैले तथ्यांकमा देखिने गरी धेरै बचत राख्ने कम हुन्छन् । तर पनि एकै व्यक्तिले करोडौं रकम बचतमा राखेको विभाग स्रोत बताउँछ । ‘डुब्ने सहकारीमा ५० करोडभन्दा बढी पैसा थियो भन्ने भेटिन्छन्,’ विभाग स्रोतले भन्यो ।एक वर्षको समयमा करिब ४ हजार सहकारी थपिएका छन् । गत आर्थिक वर्षको अन्त्यमा मुलुकभर सञ्चालित सहकारीको संख्या ३० हजारको हाराहारी छ । त्योभन्दा अघिल्लो वर्ष २६ हजार सहकारी सञ्चालित थिए ।सञ्चालति सहकारीको लगानी भने गएको एक वर्षमा वृद्धि नभएको तथ्यांकले देखाएको छ । सहकारी विभागले तयार पारेको तथ्यांकले गत आर्थिक वर्षको अन्त्यमा सहकारी संघसंस्थाले गरेको लगानी १ खर्ब ३४ अर्ब रुपैयाँ देखिएको छ । जुन एक वर्षअघि पनि त्यति नै थियो । घरजग्गालगायतका क्षेत्रमा आएको मन्दीका कारण ऋण लगानी नबढेको हो । सहरी क्षेत्रका अधिकांश सहकारी संस्थाले घरजग्गा कारोबार उच्च रहेको समय घरजग्गामा लगानी बढाएका थिए । धेरै लगानी गर्ने संस्था समस्यामा परिसकेका छन् ।
सर्वसाधारणको बचतमा सबैभन्दा धेरै संकलन गर्नेमा बचत तथा ऋण सहकारी पर्छन् । ०६९ असार मसान्तमा १ खर्बभन्दा बढी बचत यस्तै सहकारीमा थियो । यसपछि बहुउद्देश्यीय सहकारीमा धेरै बचत हुन्छ । गत वर्ष अन्त्यको तथ्यांक भने तयार भइसकेको छैन । तर सबैभन्दा बढी बचत जम्मा गर्नेमा बचत तथा ऋण सहकारी नै छन् । सहकारी विभागका अनुसार सहकारीले मुलुकको कुल वित्तीय कारोबारमा १५ प्रतिशत स्थान लिएको छ । सदस्यको संख्या साढे ४३ लाख पुगेको विभागको तथ्यांकमा छ । संख्यात्मक रूपमा बढ्दै गएका सहकारीले कुल गार्हस्थ्य उत्पादनमा करिब ३ प्रतिशत योगदान दिएको विभागले जनाएको छ । सहकारी क्षेत्रबाट प्रत्यक्ष रोजगारी पाउनेको संख्या पनि ५२ हजारभन्दा बढी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु