फिलिपिन्समा गोनी आँधी : लाखौं प्रभावित

काठमाडौं । फिलिपिन्समा प्रतिघण्टा २ सय २५ किलोमिटरको रफ्तारमा आएको गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीले क्याफेन्डुआनेस टापुमा ठुलो क्षति गरेको छ । आँधीका कारण हजारौं नागरिक घर छाडेर भागेका छन् । आँधीका कारण बन्दरगाह र विमानस्थहरु बन्द गरिएका छन । आँधी प्रभावितहरुलाई शिक्षण संस्था, सरकारी कार्यालय र जिमखानाहरुमा राखिएको छ ।
आँधी पश्चिम दक्षिणतर्फ अघि बढेकाले सो स्थानमा उच्च सतर्कता अपनाइएको छ । कोरोना संक्रमण बढिरहेका बेला आँधीबाट जोगिन थप सतर्कता अपनाउन सरकारी अधिकारीहरुले आग्रह गरेका छन् ।
फिलिपिन्समा हरेक वर्ष २० भन्दा बढी आँधी आउने गर्दछन् । एक साताअघि आएको मोलाभ आँधीका कारण त्यहाँ २२ जनाको मृत्यु भएको थियो । सन् २०१३ मा आएको हैयान आँधीमा परेर छ हजार भन्दा बढीको मृत्यु भएको थियो । -एजेन्सी