सरकारद्वारा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न परिपत्र

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायलाई परिपत्र गरेको छ । मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने उल्लेख छ ।
मन्त्रालयका अनुसार गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको हो । नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग भइरहेका विभिन्न १६ वटा शब्दहरुलाई सरकारले सच्याउने निर्णय गरेको छ ।
कानून मन्त्रालयले पठाएको परिपत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट कात्तिक ५ गते देशभरिका सबै (७५३) स्थानीय तहलाई निर्णय कार्यान्वयनका लागि परिपत्र पठाइएको छ । संघीय मामिला मन्त्रालयले स्थानीय तहलाई पठाएको परिपत्रमा ‘मन्त्रिपरिषदको २०७७ असोज ११ को बैठकबाट भएको निर्णय कार्यान्वयन गर्नु गराउनु हुन आदेश अनुसार अनुरोध छ’ भनिएको छ ।
मन्त्रालयका अनुसार अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘Nepal’ मात्र लेख्ने मन्त्रिपरिषदबाट निर्णय भएको छ ।
सरकारले आफ्नो मातहतमा जारी गरेको सर्कुलरमा ‘विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरूमा समेत नेपालको औपचारिक नाम नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘फेडरल डेमोक्रेटिक रिपब्लिक अफनेपाल’ लेख्ने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘Nepal’ लेख्ने’ निर्देशन दिइएको छ ।