गैँडाको माउ र बच्चा मृत फेला

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेका हुन । मृत पोथी गैँडाको खाग नभेटिएका कारण तस्करले मारेको हुनसक्ने आशङ्का गरिएको छ । गएको भदौमा मृतावस्थामा भेटिएको गैँडा र बुधबार मृतावस्थामा भेटिएको गैँडाको मृत्युको प्रकृति एउटै रहेको निकुञ्जले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै चितवनमा ११ वटा गैँडाको मृत्यु भइसकेको छ । नौ वटा गैँडा कालगतिले मरेका निकुञ्जले जनाएको छ । सन् २०१५ को गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जका ६ सय ५ सहित नेपालमा ६ सय ४५ वटा गैँडा रहेका छन् ।