साउदीमा आप्रवासी श्रमिकले रोजगारदाताको अनुमतिबेगर कम्पनी परिवर्तन गर्न पाउने

काठमाडौं । नेपाली श्रमिकहरुको प्रमुख श्रमगन्तव्य बन्दै आएको साउदी अरेवियामा रोजगारदाता कम्पनीको अनुमतिबेगर आप्रवासी श्रमिकले कम्पनी परिवर्तन गर्न पाउने भएका छन् । साउदी सरकारले कम्पनी परिवर्तन गर्न पाउने तथा करार अवधि सकिएपछि रोजगारदाता कम्पनीको अनुमतिबिना स्वदेश फर्कन पाउने व्यवस्था गरेको हो ।
त्यहाँस्थित मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार घोषणा गरेको सो व्यवस्था आगामी १४ मार्चदेखि कार्यान्वयनमा आउने छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि करार अवधि सकिएपछि पनि कामदारहरुले आफ्नो रुचि र सीपअनुसार कम्पनी परिवर्तन गर्न पाउने छन् ।
यसअघि कामदारहरुले आफू कार्यरत कम्पनीको अनुमतिबिना अन्य कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था थिएन । करार अवधि सकिएर स्वदेश फर्कनसमेत रोजगारदातासँग अनुमति चाहिने व्यवस्था थियो । हाल साउदीमा ३ लाख ५० हजारको हाराहारिमा नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान गरिएको छ ।