सत्तारुढ नेकपा फुटको संघारमा : प्रचण्ड पक्षको अस्तित्व संकटमा

२०७७ कार्तिक २३ गते, आईतवार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । झण्डै बर्ष दिन अघिदेखि नै आन्तरिक कलहमा फसेको सत्तारुढ नेकपामा अब वार र पारको स्थिति सृजना भएको छ । सचिवालय बैठक बोलाउनु पर्ने लिखित मागसहित शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका प्रचण्ड पक्षीय नेताहरु र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच झनै तिक्ततापूर्ण संवाद भएपछि नेकपामा बढ्दो संकट अझै गहिरिने सम्भावना देखिएको हो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल , उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसंगको टोलीसंग अध्यक्ष ओलीको भनाभन नै भएको बताइएको छ ।
छलफलमा सहभागी एक सदस्यका अनुसार अध्यक्ष ओलीले आफुविरुद्व शीर्ष नेताहरुले नै गुटबन्दी सुरु गरेको भन्दै सचिवालय बैठक बोलाउन अस्वीकार गरेका थिए । प्रधानमन्त्री ओलीले गुटबन्दीबीच बैठक बोलाउन आवश्यक नभएको भन्दै बैठक कुनै पनि हालतमा नबोलाउने अडान राखेको बताइएको छ ।
वालुवाटार पुगेका सचिवालय सदस्यहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिड १९ को अवस्था एवं प्रभाव, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफल गर्नु पर्ने माग गर्दै अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएका थिए । तर ओलीले गुटबन्दी गर्नेहरुसंग बसेर बैठक गर्न आफूले आवश्यक नदेखेको भन्दै ठाडो जवाफ दिएको बताइएको छ । पत्र बुझाउन वालुवाटार पुगेका सचिवालय सदस्यहरुले धुम्बाराहीस्थित पार्टी कार्यालयमा अनौपचारिक बैठक गरेर लिखित पत्र तयार गरी वालुवाटार पुगेको बताइएको छ ।
प्रचण्ड पक्षीय नेताहरुको यो हर्कत पछि नेकपा अब एक हुन नसक्ने निष्कर्षमा ओली पक्ष पुगिसकेको बुझिएको छ । केहिदिन aghi ओलीनिकटस्थ सचिवालय सदस्यहरु ईश्वर पोखरेल र विष्णु पौडेलले पनि विभाजनको खतराबारे सामाजिक सञ्जालमा लेखिसकेका छन् ।
नेकपाभित्र ओली हटाउने प्रयास भए विभाजनसम्मको तयारी यसअघि नै भइसकेको छ । निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता छ । ओलीले कुनै पनि बेला नेकपा एमाले ब्युँताउने संकेत विगतमा नै गरिसकेका छन् । उनले यसअघि पनि पार्टी विभाजन सहज बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइसकेका छन् । उक्त अध्यादेश पछि फिर्ता गरिएको थियो । नेकपाभित्र ओली हटाउन खोजिए फेरि अध्यादेश आउनसक्ने सम्भावना रहेको छ । यस कारण पनि नेकपा फुटको संघारमा पुगेको छ । अब प्रचण्ड पक्षीय नेताहरुसामु अब दुईवटा बिकल्प मात्र बाँकी छन् । एउटा ओली समक्ष आत्मसमर्पण गर्ने र अर्को पार्टी फुटाउने । यी दुवै बिकल्प प्रचण्ड पक्षीय नेताहरुलाई आत्मघाती हुने निश्चित छ । – क्षेप्यास्त्र साप्ताहिक

प्रतिक्रियाहरु

[anycomment]