म्यान्मारमा संसदीय निर्वाचनका लागि मतदान हुँदै

काठमाडौं । म्यान्मारमा संसदका लागि आमनिर्वाचन हुँदैछ । विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ । पाँच वर्षअघि भएको आमनिर्वाचनमा सूचीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गर्नु भएको थियो । संसदको माथिल्लो र तल्लो सदनका लागि ९० भन्दा बढी दलले चुनावमा भाग लिएका छन् ।
यस पटक राज्य र क्षेत्रीय तहको पनि निर्वाचन हुँदैछ । स्टेट काउन्सिलरका रुपमा सेवारत सूची अहिले पनि म्यान्मारमा निकै लोकप्रिय नेतृका रुपमा लिइन्छ । तर उनको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न सकेको छैन । म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न उहाँको सरकारले पर्याप्त काम गर्न नसकेको आरोप लाग्दै आएको छ । आमनिर्वाचनमा ५० लाख नयाँ मतदाता सहित ३ करोड ७० लाखभन्दा बढी मतदाता छन् । निर्वाचनको नतिजा सोमबार बिहानदेखि सार्वजनिक गर्न थालिने जनाएको छ । – एजेन्सी