‘स्मार्ट लाइसेन्स’का लागि १४ लाख कार्ड खरिद गरिदै

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्नका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनमा मूल्याङ्कन भइरहेको बताएका छन । उनले दुई वर्ष पहिले करिब १० लाख कार्ड खरिद गरेपछि यो वर्ष खरिद प्रक्रिया अघि बढाएको र अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकीरहेको बताए । ठेक्का सम्झौता भएपछि तीन महिना भित्रमा कार्ड ल्याउने उनले बताए। अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ। विभागले गत चैतदेखि असोज मसान्तसम्ममा करिब १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो। अब सेवाग्रहीले कार्ड पाउन सहज हुने अपेक्षा गरिएको छ। सरकारले गत चैतमा कोभिड-१९ को नियन्त्रणका लागि लकडाउन गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन्।