नेवानिले निजी ल्याबको कोरोना रिपोर्टलाई मान्यता नदिने !
काठमाडौं । नेपाल वायुसेवा निगमले हङकङ उडानमा अब निजी ल्याबको रिपोर्टलाई मान्यता नदिने भएको छ। निगमले एक महिनाको बीचमै ३ पटकसम्म नेपाल एयरलाइन्सको जहाज मार्फत हङकङ पुगेका यात्रुमा कोरोना देखिएको भन्दै हङकङले प्रतिबन्ध लगाएपछि यस्तो निर्णय लिएको हो। निजी ल्याबको गलत रिपोर्टका कारण हङकङ उडानमा बारम्बार प्रतिबन्ध लागेपछि एयरलाइन्सले सञ्चालक बोर्डबाट निर्णय गराउँदै निजी ल्याबको रिपोर्टलाई मान्यता नदिने निर्णय गरेको हो। तर, अन्य गन्तव्यका हकमा भने निजी ल्याबको रिपोर्टले मान्यता पाउने तर हङकङ उडानमा भने निजी ल्याबको पिसिआर रिपोर्टले मान्यता नपाउने निगम महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए।नेपाल एयरलाइन्सको जहाज मार्फत हङकङ पुगेका यात्रुमा कोरोना देखिएपछि अक्टोबर ४ देखि १७ सम्म, अक्टोबर २० देखि नोभेम्बर ३ सम्म र तेस्रोपटक नोभेम्बर १२ देखि २५ सम्मको एयलाइन्सलाई प्रतिबन्ध लगाइएको छ। पहिलो र दोस्रो पटकको उडान प्रतिबन्धमा मात्रै निगमले ६ करोड भन्दा बढी आम्दानी गुमाएको थियो।