हुम्लामा हिमपात

काठमाडौं । यसअघि कात्तिक १८ गते हिमपात भएको हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । हुम्लामा बिहानको तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीयले बताए । लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने उनीहरु बताउछन । मंगलबार बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ ।