महिला तथा बालिकामाथिका जघन्य अपराधलाई राष्ट्रिय मुद्दा बनाउन आग्रह

काठमाण्डौ । संयुक्त महिला संघ संघर्ष समितिले पछिल्लो समयमा महिला र बालिकामाथिको बलात्कार, बलात्कारपछि हत्यालगायत महिला हिंसाका घटना दिनानुदिन बढिरहेको र महिला तथा बालिकामाथि भइरहेको यस प्रकारको हिंसाका घटनाले सिङ्गो मुलुकलाई नै चिन्तित र लज्जित बनाइरहेको उल्लेख गर्दै यस्ता घटनालाई राष्ट्रिय समस्याको रूपमा बुझ्न र समस्यालाई समाधान गर्न गम्भीर हुन सरकारसँग जोडदार माग गरेको छ । साथै यस प्रकारका महिला तथा बालिकामाथिका हत्या, हिंसाजस्ता जघन्य अपराधको विषयलाई राष्ट्रिय मुद्दा बनाउन र ती घटना हुन नदिनका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्न विभिन्न राजनीतिक दल, महिला सङ्गठन, मानवअधिकारवादी सङ्घसंस्थाहरूसँग संयुक्त महिला संघ संघर्ष समिति अपिलसमेत गरेको छ ।
यस बिषयमा संयुक्त महिला संघ संघर्ष समितिमा आबद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीको राजकुमारी शाही , अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अम्बिका मुडभरी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको धनकुमारी सुनार , अखिल नेपाल महिला युनियनको सीता सुवेदीको हस्ताक्षरमा जारी बिज्ञप्ती यस प्रकार रहेको छ – “देशका विभिन्न ठाउँमा भइरहेको महिला र बालिकामाथिको बलात्कार, हत्या, हिंसाका घटनाप्रति संयुक्त महिला सङ्घ सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो समय महोत्तरी जिल्लाको बर्दिबासमा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको संयुक्त महिला सङ्घ सङ्घर्ष समितिले घोर निन्दा र भत्र्सना प्रकट गर्दछ । एक अबोध बालिकामाथि भएको यस प्रकारको जघन्य अपराधको जति नै निन्दा र भत्र्सना गरे पनि पुग्दैन । सङ्घर्ष समितिले घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय, बालिकाको परिवारलाई उचित क्षतिपूर्ति र न्यायको लागि जोडदार माग गर्दछ । बालिका हत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै विरोधमा निस्किएका सर्वसाधारणमाथि प्रहरीद्वारा व्यापक दमन भएको छ । सङ्घर्ष समितिले प्रहरी दमन घोर भत्र्सना गर्दछ । प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ भने गम्भीर घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ । मृतकका आफन्तलाई उचित क्षतिपूर्ति, घाइतेहरूलाई निःशुल्क उपचार र घटनाको न्यायिक छानबिन गरी दोषीलाई कडा कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछ ।
पछिल्लो समयमा महिला र बालिकामाथिको बलात्कार, बलात्कारपछि हत्यालगायत महिला हिंसाका घटना दिनानुदिन बढिरहेका छन् । महिला तथा बालिकामाथि भइरहेको यस प्रकारको हिंसाका घटनाले सिङ्गो मुलुकलाई नै चिन्तित र लज्जित बनाइरहेको छ । यस्ता घटनालाई राष्ट्रिय समस्याको रूपमा बुझ्न र समस्यालाई समाधान गर्न गम्भीर हुन सरकारसँग जोडदार माग गर्दछौँ । यस प्रकारका महिला तथा बालिकामाथिका हत्या, हिंसाजस्ता जघन्य अपराधको विषयलाई राष्ट्रिय मुद्दा बनाउन र ती घटना हुन नदिनका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्न विभिन्न राजनीतिक दल, महिला सङ्गठन, मानवअधिकारवादी सङ्घसंस्थाहरूसँग अपिल गर्दछौँ ।”