राष्ट्रिय थारू मुक्ति मोर्चाद्वारा गृहप्रशासनलाई चेतावनी

काठमाडौं । राष्ट्रिय थारू मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष संघप्रसाद थारुले सो संगठनका लुम्बिनी ब्युरो संयोजक गणेश थारूलाई शिवराजस्थित हल्लानगरबाट अपराधिक शैलीमा प्रहरीले गिरफ्तार गरेको बताएका छन । थारुले आइतबार वक्तव्य जारी गर्दै थारुको गिरफ्तारीप्रति घोर निन्दा एवं भत्र्सना गरेका छन् । अध्यक्ष थारुले संगठनका नेता गणेश थारुको गिरफ्तारीपछि केही सञ्चार माध्यममा चन्दा आतंक र तोडफोडमा संलग्न भएको भनि आएको समाचार झुठा र नक्कली भएको समेत बताएका छन् । अध्यक्ष थारुले वक्तव्यमा भनेका छन्, “२०७७ मङ्सिर २० गते हाम्रो संगठन राष्ट्रिय थारू मुक्ति मोर्चा नेपालका लुम्बिनी ब्युरो संयोजक गणेश थारूलाई शिवराज २ हल्लानगरस्थित स्थानीय जनताको घरमा बसिरहेको बेला वली सरकारको गृहप्रशासनले अपराधिक शैलीमा गिरफ्तार गरेको घटनाप्रति घोर निन्दा एवं भत्र्सना गर्दछौं । कमरेड गणेशको गिरफ्तारीपछि केही सञ्चार माध्यमहरुमा चन्दा आतङ्क र तोडफोडमा संलग्न भएको भनि लगाइएको झुठा र नक्कली आरोपप्रति समेत हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । वैज्ञानिक समाजवादी व्यवस्थाको लक्ष्य सहित श्रमिक वर्गको सुन्दर समाज निर्माण गर्ने अभियानमा सङ्घर्षरत कमरेड गणेशमाथि लगाइएको उक्त आरोपको हाम्रो संगठन खण्डन गर्दै त्यसप्रकारको भ्रामक समाचार सत्य नभएको स्पष्ट समेत गर्दछौं ।” वक्तव्यमा अध्यक्ष थारुले गणेश थारूको तत्काल रिहाइका लागी पहल गरिदिन सम्पूर्ण बुद्धिजीवी, कानुन व्यवसायी, नागरिकसमाज, पत्रकार एवं सरोकारवालाहरुमा अपिल समेत गरेका छन् । थारुलाई कपिलवस्तुको शिवराजस्थित हल्लानगरमा रहेको एक स्थानीय जनताको घरबाट प्रहरीले पक्राउ गरेको थियो । थारुको पक्राउपछि केही सञ्चार माध्यमहरुमा थारु चन्दा आतंक र तोडफोडमा संलग्न भएको भनि समाचारहरु प्रकाशित भएका थिए । कपिलवस्तुको शिवराज र शिवगढीमा मंसिर ८ गते प्रहरीले स्थानीय जनताको घरमा पसेर खानतलासी समेत गरेको थियो । उक्त घटनाका विरुद्ध नेकपा कपिलवस्तु इन्चार्ज जुझारुले प्रेस वक्तव्य प्रकाशित गर्दै जनताको घरमा पसेर आतंक सिर्जना नगर्न गृहप्रशासनलाई चेतावनी दिएका थिए ।